काठमाडौं । सिट बाँडफाँट टुंगो लगाउन गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदललाई दिएको समय सकिएको छ ।
शीर्ष नेताहरुको बैठकले कृष्ण सिटौला नेतृत्वको कार्यदललाई साउन मसान्तसम्मको अवधि दिएको थियो । तर, त्यस अवधिमा तीनवटा औपचारिक बैठक भए पनि कसले कति सीट पाउने भन्ने टुंगो लाग्न सकेन ।
कार्यदलले सामान्य मापदण्डबाहेक बाँडफाँट टुंगो लगाउन नसकेपछि बिहीबार बसेको पाँचदलीय गठबन्धनको शीर्ष बैठकमा नेताहरूले आआफ्नो पार्टीको दाबी प्रस्तुत गरेको बताइएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपालाई गठबन्धनको सदस्य बनाउने कि नबनाउने भन्नेबारे टुंगो लागेको छैन ।
माओवादीको चिन्ह लिएर चुनावमा भाग लिन लागेका बाबुराम भट्टराई र वामदेव गौतमको पार्टीलाई गठबन्धनको हिस्साबाट सीट दिने कि माओवादीको कोटाबाट दिने भन्ने पनि टुंगो लागेको छैन ।
यद्यपि बाबुराम र महिन्द्रा राय भने प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूलाई गठबन्धनकै हिस्सा मानेर सीट छुट्याउने समझदारी बनेको छ ।
गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले १०० सीट दाबी गरेको छ । गठबन्धनमा बाँडफाँट गर्दा ९० भन्दा तल सम्झौता नगर्न शेरबहादुर देउवामाथि पार्टीभित्रबाटै दबाब छ । यद्यपि माओवादी स्रोतले भने कांग्रेसले बढीमा ८० सीटमात्र पाउने दाबी गरेको छ ।
गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सीटमा दाबी गरेको छ । स्थायी कमिटीको बुधबारको बैठकमा ६० सीटको दाबी गर्ने अनौपचारिक छलफल चलेको थियो । माओवादीले ६० सीट दाबी गरे पनि उसले ४५ देखि ५० सीटमा चित्त बुझाउनुपर्ने देखिन्छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि ३७ देखि ४० सीट दाबी गरेको छ। स्थानीय चुनावको परिणाम र एमालेको विद्रोही शक्ति भएकाले एमाले हराउन आफूहरूले सम्मानजनक सीट पाउनुपर्ने उनीहरूको भनाइ छ । यद्यपि गठबन्धनमा भागबन्डा हुँदा नेकपा एसको भागमा १५ देखि २० सीटको बीचमा पर्ने नेताहरूले बताएका छन् ।
गठबन्धनको अर्को घटक जसपाले पनि ३० देखि ३५ सीट दाबी गर्ने भएका छन् । तर, गठबन्धनका नेताहरू भने जसपाको भागमा १० सीटको हाराहारी पर्ने बताउँछन् । लोसपा गठबन्धनमा सामेल हुँदा उसको सीट अझ खुम्चिन सक्छ ।
गठबन्धनको अर्को घटक बनेको बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि ४ सीट दाबी गरेको छ भने वामदेव गौतमले आफ्नो लागि एक सीट मागेका छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले पनि प्यूठान र बागलुङ वा अर्घाखाँचीमध्ये एक सीट मागेको छ । तर, उसको भागमा एक सीटमात्र पर्ने निश्चित छ ।