काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच फेसबुकमा घोचपेच भएको छ।
धरानका मेयर सम्पाङले सामाजिक सञ्जालमा काठमाडौंलाई लक्षित गर्दै स्टाटस लेखेपछि काठमाडौंका मेयर शाहले जवाफ फर्काएका हुन्।
सम्पाङले बुधबार साँझ फेसबुकमा लेखेका छन्, ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ! कम्से कम काम त शुरु गरे!’
उनको स्टाटसमा बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘ तपाईँकै लौरो चुनाव चिह्न लिएर त मैले चुनाव पनि त जितेको हो नि!’ केहीदिन अघि काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोर देखेर श्रमदमन गर्न मन लाग्यो भन्ने। उनी यतिबेला धरान फर्किसकेका छन्।
उनीहरुबीचको फेसबुक स्टाटसमै दोहोरी परेपछि धनगढीका मेयर गोपाल हमाल पनि मैदान उत्रिएका छन् । हमालले फेसबुक स्टाटसमार्फत काठमाडौं, धरान र धनगढीका केहि घटनाक्रम देखाउँदै सचेत रहन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, – ‘काठमाडौमा फोहरको बिषयमा राजनिती गरेर महानगरपालिकालाई असहयोग गर्नु , धरानमा कार्यालयमा तोडफोड गर्नु, धनगढी उप-महानगरपालिका वडा न. ७ देवरियामा संचालित गौशालालाई व्यवस्थित गर्ने समुदाय संग साझेदारी गरेर योजना अगाडि बढे पछि राती नै गौशालाको तारवार काटिनु र गौशाला व्यवस्थापन कार्यमा अवरोध सिर्जना गर्नुका साथै कार्यपालिका बैठकमा राम्रो प्रस्ताव पारित गर्न नि असहज वतावरण बनाई असहयोग गर्नु । यो संयोग हो कि राजनीति योजना हो । यी सबै बिषय धनगढी वासीलाई अवगत गराउदै , सचेत हुन जानकारी गर्दछु ।’