काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवामाथी भ्रष्टाचारको आरोप लागेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवामाथि भ्रष्टाचारको आरोप लगाएका हुन् । श्रीमती र सालाहरु अगाडि सारेर प्रधानमन्त्री देउवाले भ्रष्टाचार गरिरहेको उनको आरोप छ ।
प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जिकिरसमेत गरे।
उनले भने, ‘आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमती, सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? श्रीमती, सालाहरुलाई अगाडि सारेर देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? अब गलत पोलिटिक्स गर्यो भने त्यो दृष्टान्त देखेपछि मान्छेले डर्टी पोलिटिक्स भन्न थाल्छ।’
राजनीतिको ननाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट भएको भन्दै उनले भने, ‘म यो पनि बेचिदिन्छु, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोड्छु। यस्तो पोलिटिक्स गर्नु भयो भने पोलिटिक्स हुँदैन। त्यो पोलिटिक्स होइन। त्यो स्वार्थ हो। स्वार्थ र राजनीति भनेको फरक कुरा हो। राजनीतिको नाममा त्यो विकृति हो।’
काठमाडौंमान भएको कार्यक्रममा उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्कसमेत गरे। ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गरे।
राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दाबीसमेत गरे।
‘व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसीटिभी कर्यापकुरुप पारेर तार चुडाएर आयो। अनि, केही पनि भेटिएन भन्यो। यस्तो ढाँट पनि हुन्छ राजनीत ? अब यही देखेपछि अनि कतिपयले भन्छन्–आई हेट पोलिटिक्स,’ ओलीले भने।
अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यमको रुपमा लिएको टिप्पणीसमेत गरे। स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उनले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिए पनि त्यस्तो नभएको उनले बताए ।