Latest News

अचानक आएको बाढीले ३२ जनाले ज्यान गुमाए, सयौं घर ध्वस्त !

Nepalese Times August 15, 2022 (1 Year ago)    766 Views

काठमाडौं ।

अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

बाढीका कारण २० भन्दा बढी घाइते भएका छन्। योसँगै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख शम्स रहमान सादेक्कीले सयौं घर ध्वस्त भएको टोलो न्युजललाई बताएका छन् ।

अफगानिस्तानमा भारी वर्षा र अचानक आएको बाढीले सो क्षति पुर्याएको छ । अफगानिस्तानको लोगार, वार्दक र खोस्ट प्रान्तमा महिला र बालबालिकासहित कम्तीमा २१ जना घाइते पनि स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

देशको पूर्वी र मध्य क्षेत्रमा अवस्थित तीन प्रान्तहरूमा विगत केही दिनदेखि परेको भारी वर्षा र अचानक आएको बाढीले ठूलो सङ्ख्यामा गाउँ–बस्तीहरू प्रभावित गरेको खामा प्रेसले उल्लेख गरेको छ ।

साथै बाढीले पोल(ए(आलमका थुप्रै ठाउँहरू बगाएको छ। बाढीले सयौं आवासीय संरचना, हजारौं एकड खेतबारी र दर्जनौं बगैंचामा क्षति पुर्याएको पनि स्थानीयबासीले बताएका छन् ।

यस क्षेत्रमा सयौं परिवार घरबारविहीन बन्दै विस्थापित भएका छन् । साथै दक्षिण–पूर्वी अफगानिस्तानको पक्तिया, मैदान वर्दक र खोस्ट प्रान्तहरूमा पनि बाढीले आर्थिक र मानवीय क्षति पुर्याएको खामा प्रेसले जनाएको छ।

यसै बीच करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा बाढीले बगाउँदा महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए।

अफगानिस्तानको पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानक आएको बाढीले ठूलो धनजनको क्षति गरेको बताइएको छ । भारी वर्षाले करिब २,९०० घरमा क्षति पुर्याएको छ ।

सडक र पुलहरू जस्ता महत्त्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन्। यो सँगै गत महिना अफगानिस्तानमा मनसुनी वर्षा र बाढीका कारण करिब ४०० जनाको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस