Latest News

राप्रपा बैठक सकियो, के–के भयो निर्णय ?

Nepalese Times August 15, 2022 (2 Year ago)    353 Views

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न दलसँग गठबन्धन र तालमेलका लागि निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिने निर्णय गरेको छ ।

मंगलवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तालमेलका लागि सबै दलसँगको छलफल खुला गर्ने निर्णय गरेको हो ।

यस्ता छन् बैठकका निर्णयहरु

१. सरकारद्वारा मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा हुनु सकारात्मक र स्वागतयोग्य छ । निर्वाचन भयरहित र धाँधलीरहित ढंगबाट सम्पन्न हने वातावरण बनाउन र निश्पक्ष निर्वाचनको ग्यारेन्टी गर्न राप्रपा सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछ ।

२. प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका सन्दर्भमा :

क) राप्रपाले आफ्नो सम्पूर्ण सामर्थ्य आगामी निर्वाचनमा लगाउनेछ । देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको टड्कारो आवश्यकता हुँदै गइरहेको अवस्थामा निर्वाचनको माध्यमबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गरिनेछ।

ख) आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न राजनितिक दलसँग गठवन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई वैठकले जिम्मेवारी प्रदान गरेको छ ।

ग) पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरिएको छ ।

घ) प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा आम मतदाता सामु प्रस्तुत गरिने घोषणापत्र तयारीका लागि प्रा.डा.गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.डा.जयन्तनाथ खनाल र सह प्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरिएको छ ।

३. विषम परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र कोभिडको विकराल परिस्थिति पछि क्रमशः तङग्रिदै गरेको अवस्थामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट उद्योगीहरूको असहमति रहँदा रहँदै पनि एकतर्फी रूपमा उद्योगले प्रयोग गरेको जमिनको बहाल वृद्धि गरिनु उद्योगमैत्री निर्णय हुन सक्दैन । जमिन बहाल वृद्धिको निर्णय कार्यान्वयन नगरि उद्योग वाणिज्य क्षेत्रलाई राहत प्रदान गर्न र सरोकारवाला पक्षसँग छलफल गरि दीर्घकालिन समाधानको उपाय खोज्न राप्रपा सरकारसँग माग गर्दछ ।

४. शहिद गंगालाल हृदयरोग केन्द्रमा स्वास्थ्य उपचार सेवामा गरिएको अत्यधिक र अकल्पनीय शुल्क वृद्धि प्रति राप्रपाको गम्भिर ध्यानाकर्षण भएको छ । स्वास्थ्य जस्तो संवेदनशील र अत्यावश्यक क्षेत्रमा भएको शुल्क वृद्धिबाट आम सर्वसाधारण नागरिक मारमा परेका छन् । शुल्क वृद्धि अविलम्व फिर्ता लिई स्वास्थ्य क्षेत्रलाई सवैको पहुँचमा पुयाउन र जनस्वास्थ्यमा गम्भिर वन्न राप्रपा सरकारसँग माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस