काठमाडौं ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको एक स्टाटसको विषयलाई लिएर अहिले सामाजिक संजाल तातिरहेको छ ।
मेयर साम्पाङले काठमाडौंका सडक फराकिला र चिल्ला भए पनि त्यसको किनारामा फोहोरको डंगुर रहेको भन्दै लेखेको स्टाटस अहिले भाइरल बनिरहेको छ ।
यस स्टाटसका सम्बन्धमा प्रतिक्रिया जनाउँदै काठमाडौंका मेयर बालेनले साम्पाङको काम गर्ने शैलीप्रति व्यंग्य गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा साम्पाङले आइतवार लेखेका छन्,
–काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।
साम्पाङको यो स्टाटसको स्क्रीन शट एक फेसबूक प्रयोगकर्ताले फेसब्क ग्रूपमा शेयर गरेका थिए । त्यसैमा कमेन्ट गर्दै बालेनले लेखेका छन्– हिँड न केटा हो, ५(५ केजी फोहोर बोकेर बञ्चरे । किन चाहियो ट्रक, किन चाहियो बाटो, किन चाहियो व्यवस्थापन ?
हर्क साम्पाङले अधिकांश काम जनश्रमदानको बलमा गरिरहेका छन् । काठमाडौंमा पनि श्रमदान गर्न मन लाग्यो भनेर गरेको व्यंग्यको प्रत्युत्तरमा बालेनले उल्टै साम्पाङको कार्यशैलीप्रति व्यंग्य गरेका हुन् ।
फेसबूकमा बालेनको एउटा आधिकारिक पेज र एउटा प्रोफाइल छ । पेज भेरिफाइड छ भने प्रोफाइल भेरिफाइड छैन ।
बालेनले पहिलेदेखि नै प्रयोग गर्दै आएको उक्त प्रोफाइलमा अहिले १ लाख ५७ हजार ३२० जनाले फलो गरेका छन् । पेजमा भने ९ लाख १९ हजार जनाले लाइक गरेका छन् ।
बालेनले आफूले पहिलेदेखि नै चलाउँदै आएको फेसबूक प्रोफाइलबाट साम्पाङप्रति कमेन्ट गरेका हुन् । बालेन र साम्पाङ दुवै स्वतन्त्र रूपमा चुनाव जितेका मेयर हुन् ।
साम्पाङले छोटो समयमा नै आफ्ना मतदातालाई थोरै भने पनि खुशी दिन सफलता हासिल गरेका छन् भने बालेनले आजसम्म उल्लेख्य काम गर्न सकेका छैनन् ।
त्यसो त निर्वाचित भएको १०० दिन पनि हुनै बाँकी छ। बालेनलाई काठमाडौंको फोहोर व्यवस्थापन नै निकै चुनौतीपूर्ण बनिरहेको छ ।