Latest News

पक्राउ पुर्जी जारी भएका नेकपा प्रवक्ता प्रकाण्डले देश छाडे, कहाँ गए ?

Nepalese Times August 14, 2022 (2 Year ago)    412 Views

काठमाडौं ।

अदालतबाट पक्राउ पुर्जी जारी भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले देश छाडेका छन् ।

उनी एयर चाइनाको सीए ४३८ उडानबाट आइतबार १२ः४५ बजे चीनको छेन्दुतर्फ उडेका हुन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन गएका हुन् । ललितपुर जिल्ला अदालतबाट केही दिनअघि मात्र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

गत साउन १६ गते पक्राउ पुर्जी जारी भए पनि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन उडेका छन्। प्रकाण्ड चीन गएकोबारे आफूलाई जानकारी नभएको विमानस्थल प्रहरी प्रमुख डीआइजी श्याम ज्ञवालीको प्रतिक्रिया रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको हो ।

उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दा लागेको भन्दै ३५ दिने पक्राउ पुर्जी जारी भएको हो।

उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ। अदालतले हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई छन्।

यस्तै विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरूद्धको अपराधसमेतको मुद्दामा विप्लव र प्रकाण्डलाई पत्र काटेको छ। यस्तै मुद्दा हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुर र अपराधिक लाभ र संगठित अपराधको मुद्दामा विधिन्न व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस