Latest News

मंसिरपछि केपी ओली प्रधानमन्त्री !

Nepalese Times August 14, 2022 (2 Year ago)    454 Views

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य मायादेवी न्यौपानेले सरकारले जनताको मागअनुरुप केही नतिजा दिन नसकेको गुनासो गरेकी छन्।

आइतवार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने भन्दै व्यंग्य गरेकी छन्।

उनले सरकार मंसिर ४ गते हुने निर्वाचनपछि कमण्डलु लिएर बनारस जानुपर्ने बताइन्। निर्वाचनपछि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने पनि उनले बताएकी छन्।

‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन। विद्यार्थीलाई किताव दिन सक्दैन। किसानलाई मल, बीउ र सिचाईं दिन सक्दैन। व्यवसायीलाई कच्चा पद्धार्थ दिन सक्दैन। उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ। यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो? यो सरकार खरानी घसेर मंसिर ४ गने हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस्। दिल्लीतिर जाओस्’, उनले भनिन्, ‘केपी शर्मा ओली पुनः प्रधानमन्त्री हुनुहुनेछ।’

त्यस्तै प्रतिनिधि सभा सदस्य मिना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। इन्धनको मूल्य घटाउन पनि उनले नेपाल आयल निगमलाई ध्यानाकर्षण गराएकी छन्।

त्यस्तै, एमाले सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना र हुती नभएकाले एमालेसँग सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले एमालेसँग सहकार्य गरे काठमाडौको फोहोर व्यवस्थापन हुने दावी गरे ।

उनले काठमाडौंको फोहोर उठ्न छाडेको आज ७१ दिन पुगेको भन्दै फोहोरले काठमाडौ डुङडुङती गन्हाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरुले कुनै पहल नगरेको बताए ।

‘फोहोर नउठेको आज ७१ दिन भयो, प्रधानमन्त्रीले पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । झाडापखाला, हैजा लगायतले काठमाडौ डुङडुङती गन्हाउने अवस्था भएको छ’, भट्टराईले भने, ‘यो सरकारले कुनै पहल कदमी गर्दैन, सरकारसँग हुती पनि छैन । त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहान्नँ ।’

नेता भट्टराईले भने, ‘म बालेन साहलाई भन्न चाहन्छु, ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ । एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार छ । यदि तपाईं सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ । साँस्कृतिक सहर काठमाडौंको रक्षा गरौं,धन्यवाद ।’

 

प्रतिक्रिया दिनुहोस