काठमाडौं ।
काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीहरु पुनः रोकिएका छन्।
आज विहान फोहोर बोकेर गाएको गाडीहरु पुन रोकिएका काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सीता राईले बताएका छन् ।
तिन ओटा पालिका भएर जानु पर्ने र हरेक पालिकामा एउटा एउटा समस्या आइपर्ने भन्दै उनले तारकेश्वर नगरपालिका तिनपिपले भन्ने ठाउँमा फोहोरको गाडीले बाख्रा मारिदिएको भन्दै स्थानीयले पुनः अवरोध गरेका जानकारी दिए ।
यसअघि महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडामा पुग्ने बताएका थिए। उनले सिसडोलको दुरावस्था बन्चरेडाँडामा दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका थिए।
काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले अहिले आन्दोलन गरिरहेका छन् ।
सिसडोलका बासिन्दा निराजन सञ्जेलका अनुसार फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् ।
स्थानीयवासीहरुले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका घरघरमा र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ ।
सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो । तर फोहोर लैजान थालेकै दिन स्थानीयले बाख्रा मरेको नयाँ बहानामा फोहोर रोकेका हुन् ।