काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक भाइ रहेको र उ वडा कमिटीमा रहेर काम गरिरहेको बताएका छन्।
राजनीतिमा नातावादको चरम असन्तुष्टि बढिरहँदा अध्यक्ष ओलीले नेकपा एमाले त्यस्तो पार्टी नभएको उल्लेख गर्दै भने, ‘मेरो एक जना भाइ छ, उ अहिले भद्रपुरमा हलो जोतेर आफ्नो जिविका चलाएर बसेको छ उ अहिले वडा कमिटीमा संगठित रहेको छ।’ उनले आफ्नो श्रीमती पनि राजनीतिमा नआउने उल्लेख गरे।
काठमाडौंमा भएको एक कार्यक्रमा अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो पार्टी छोरी, बुहारी, जुवाईँ र अन्य कुनैलाई पनि पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको उल्लेख गरे।
यस्तै उनले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन्। आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए।
आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ‘तपाईंहरुले उपचार गरिदिनुभयो भने हुन्छ। मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’
यस्तै ओलीले भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम आफूबाट नहुने बताएका छन् । तर सबै भ्रष्ट छन् भनेर हल्ला चलाइएको उनले गुनासो गरे । सबै भ्रष्ट हुन् भनेर हल्ला चलाउनेहरु नै भ्रष्ट भएको ओलीको भनाइ छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने ? मसँग छ भने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु ?’
उनले थपे, ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ? त्यसकारण यो कुरा सम्भव छैन ।’ स्पष्ट दृष्टिकोण नभएका र केही काम गर्न नसक्नेहरुले अरुले राम्रो काम गरेको देखेपछि नकारात्मक हल्ला चलाउने गरेको ओलीको भनाइ छ ।
उनले भने, ‘गन्तव्य तोकेर अगाडि बढ्न सक्ने कोही नहुँदाखेरि अर्काले गर्यो भने सबै उस्तै हो, कसैले पनि केही गर्न सक्दैन, कसैले पनि केही देख्दैन, कसैले पनि केही गर्दैन, कसैसँग भिजन छैन, यस्तो हल्ला चलाउँछन् । अर्को के चलाउँछन् भने अल आर करप्ट (सबै भ्रष्ट छन्) । अफकोर्स दे आर करप्ट ।’