काठमाडौं ।
अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी प्रवेश गराएका हुन् ।
अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए ।
‘म यसअघि कुनै पनि पार्टीमा आबद्ध थिइनँ । पहिलो पटक कांग्रेससँग आबद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’
साथै उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए । ‘धेरै अग्रज र सम्मानित कलाकारहरु कांग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई कांग्रेस मन परेको हो,’ उनले भने । उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताए।
अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
त्यस्तै उनी अभिनित चलचित्र जार र लाखे प्रदर्शनको तयारीमा रहेका छन् । यसअघि चर्चित अभिनेता भुवन केसी कांग्रेस प्रवेश गरेका थिए । लगत्तै उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।