काठमाडौं ।
चितवनको इच्छाकामनामा इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दी खोला नजिकबाट बिहान ना ७ ख ७१०३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।
ट्रक पानीमा डुबेको अवस्थामा छ । ट्रकमा कति जना रहेका थिए खुलिनसकेको चितवन प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको गाडी दुर्घटनामा परेको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए ।
अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो । घाइतेमध्ये एक जना जवान गम्भीर घाइते रहेको र सबै घाइतेको उद्धारका लागि हेलिकोप्टर आइरहेको प्रजिअ सुनुवारले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीसहितको टोली अर्को गाडीमा चढेका थिए । दुर्घटनाको कारण खुलेको छैन । भ्यान अन्दाजी १ सय मिटर तल खसेको छ ।
डिएसपी डाँगीको टाउकोमा चोट लागेको रूकुम-पूर्वका प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए। यता श्रेष्ठ भने सामान्य घाइते छन्।
दुर्घटनामा परी प्रहरी जवान लक्ष्मण पुन गम्भीर घाइते छन्। घाइतेमध्ये गम्भीर प्रहरी जवानलाई थप उपचारका लागि अस्पताल पुर्याउन नेपाली सेनाको हेलिकप्टर रूकुम पुगिसकेको छ।
प्रजिअ सुनुवारले घाइतेलाई आफूले हेलिकोप्टरमार्फत अस्पताल पठाउने तयारी गरिरहेको जानकारी दिए। गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलतर्फ पठाइएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार डिएसपीसहितको टोली तकशेरमा निरीक्षणमा जाँदै थियो। सो गाडी बिहान ११ बजे दुर्घटनामा परेको कार्यालयले बतायो।