Latest News

शितल निवास अगाडि निहारिकाको आत्मदाह प्रयास, प्रहरीले यसरी बचाउन सफल

Nepalese Times August 12, 2022 (2 Year ago)    576 Views

काठमाडौं ।

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै कुमारी आमा निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले जोगाएको छ । शुक्रबार दिउँसो शितलनिवास धर्ना दिन पुगेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो।

यसअघि आफूले न्याय नपाएको भन्दै बसन्तपुर र माइतिघरमा लामो समय अनसन बसेकी थिइन्। निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो।

सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन्। तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन्।

उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। ती व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको माग छ।​

निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन् । वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

आज वसन्तपुरमा प्रहरी नभएको मौका पारेर उनी एकजना साथीसहित ट्याक्सीमा निस्केकी थिइन् । बाटोमै उनले एक लिटर पेट्रोल र लाइटर खरिद गरिन् । उनी शीतलनिवास आउँदै गरेको सूचना पाएका प्रहरी अलर्ट अवस्थामा थिए ।

निहारिकाले प्रहरीलाई अल्मल्याउनका लागि शीतलनिवास पुग्नुभन्दा केही अगाडि साथी र बच्चालाई ट्याक्सीबाट ओरालिन् । अर्को बाटोबाट साथीले बच्चालाई लिएर गइन् ।

निहारिका शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओर्लिइन् र तत्कालै शरीरमा पेट्रोल खन्याइन् । र, शरीरमा लाइटरले आगो सल्काउन खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस