Latest News

‘फोहोर फाल्न बालकोट, बुढानिलकण्ठ र खुमलटार जाऔं’

Nepalese Times August 11, 2022 (2 Year ago)    478 Views

काठमाडौं ।

काठमाडौंमा केही सातादेखि फोहोर नउठेर सडकमा असरल्ल थुप्रिएपछि स्थानीय वडाध्यक्षहरूले सरकारको ध्यानाकर्षण गराउन खुलामञ्च, भिआइपी हिँड्ने बाटो वा बागमती नदीमै विसर्जन गर्ने चेतावनी दिएका छन्।

बिहीबार बसेको नगरकार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले फोहोर उठाउन सरकारबाट सहयोग नभएको भन्दै यस्तो चेतावनी दिएका हुन्।

‘सरकारले असहयोग गरेको हो भने भिआइपी हिँड्ने बाटोमै फोहोर फाल्दा हुन्छ,’ ३० नम्बरका वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘त्यो पनि नभए बागमतीमै फाल्दा हुन्छ। युएन पार्कमा लगेर फाल्दा हुन्छ। त्यति गरेपछि बल्ल सरकारको ध्यान जान्छ। यसो गर्दा गोली हान्छ भने हामी गोली खान तयार छौं।’

वडाध्यक्षहरूले शुक्रबारको गाईजात्रा र आगामी दिनमा हुने अन्य सांस्कृतिक पर्वहरूलाई विचार गरेर कम्तिमा भित्री सहरको फोहोर तत्काल सफा गर्नुपर्नेमा जोड दिए।

‘भोलि गाईजात्राका लागि फोहोर उठाउन हतार भइसक्यो,’ उनले भने, ‘त्यो आजै उठाउनुपर्छ। राख्ने ठाउँ छैन भने बरू अहिलेलाई खुल्लामञ्चमा भए पनि राखौं।’

गाईजात्रा क्रममा मध्यसहरका विभिन्न क्षेत्र घुम्नुपर्ने हुँदा कम्तिमा शुक्रबारका लागि फोहोर पन्छाउन खुलामञ्चमा व्यवस्थापन गर्न सकिने वडाध्यक्षहरूको राय थियो। यसका लागि रातभरि काम गर्नुपरे पनि सबै तयार हुने उनीहरूले बताए।

मेयर बालेन शाहले काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ बञ्चरेडाँडा र सिसडोलमा समस्या आएका कारण केही दिनदेखि फोहोर नउठेको जानकारी दिए।

यता टेकुमा पनि फोहोर भरिएको हुँदा त्यहाँ राख्न सक्ने अवस्था नभएको उनले उल्लेख गरे। ‘हामीले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिरहेका छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस