Latest News

हामी पनि रुखमा भोट हाल्न पाउँ भन्दै बालुवाटारमा निवेदन दिनेहरुको ताँती

Nepalese Times August 11, 2022 (2 Year ago)    390 Views

काठमाडौं ।

वामदेव गौतमसँग अलगिएर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आफ्नो समूहलाई पाँच दलीय गठबन्धनमा राख्न आग्रह गरेका छन्। आफूहरुले पनि कांग्रेसलगायत सत्ता गठबन्धनका दलहरुलाई भोट हाल्ने र उनीहरुले पनि आफूलाई भोट हाल्नुपर्ने सफलको भनाइ छ ।

गठबन्धनको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटेर सफलले यस्तो आग्रह गरेका हुन्। सफलले देउवा तथा पौडेललाई छुट्टाछुट्टै भेटेर यस्तो आग्रह गरेका हुन्।

सफलले मंगलबार विज्ञप्ति जारी गर्दै देउवा र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धनसँग लड्ने विषयमा छलफल भएको बताएका हुन्।

नेताहरुसँगको भेटमा नेपाल समाजवादी केन्द्रले पाँच दलीय गठबन्धनमा आबद्ध हुन निवेदन समेत पेश गरेको छ। उक्त निवेदन पत्रमा आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य कृष्णगोपाल बञ्झरा , नेकपा राष्ट्रवादी अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य मिननाथ देवकोटा, समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य युवराज सफल, नेकपा ९समाजवादी०स्थायी समिति सदस्य तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य बद्री यादवले हस्ताक्षार गरेका छन्।

देउवा र पौडेलले सफलले राखेको प्रस्तावको स्वागत गर्दै उक्त प्रस्ताव गठबन्धनको बैठकमा राख्ने आश्वासन दिएको उनले बताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ ।

स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल तालमेलसहित अघि बढेपछि आएको परिणाम हेरेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनबाहिरका दलसमेत गठबन्धनमा जोडिने कसरतमा छन् ।

पछिल्लो समय गठबन्धनको एक घटक जसपाबाट अलग भएको डा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीदेखि महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपासम्म सत्तारूढ गठबन्धनसँग जोडिने पक्षमा छन् ।

भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेरै ‘गठबन्धनमै रहने’ चाहना व्यक्त गरेका थिए भने लोसपा नेतासँग पनि देउवाको बाक्लो भेटघाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस