काठमाडौं ।
नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले ८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।
घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन् । यस्तै सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।
यस्तै बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ ।
त्यस्तै बैठकले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् ।
त्यस्तै जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै केन्द्रीय विभागका सचिवहरु रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यसैगरी, विभिन्न पार्टीबाट प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
बैठकले जीवन गौतम, धर्मदत्त देवकोटा, बृजेश गुप्ता र अमृत राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । त्यस्तै नवराज पौडेललाई केन्द्रीय सल्लाहकार मनोनयन गरिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।
जीवन र धर्मदत्त माओवादीबाट एमाले प्रवेश गरेका हुन् भने बृजेश गुप्ता मधेसवादी दलबाट र अमृत राजवंशी कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । त्यस्तै सल्लाहकारमा मनोनीत बागलुङका पौडेल केही दिनअघि कांग्रेसबाट एमाले प्रवेश गरेका थिए ।