Latest News

सपथ विधेयक पारित, अबदेखि ‘त्यो पर्दैन’ भन्न नपाईने

Nepalese Times August 10, 2022 (1 Year ago)    225 Views

काठमाडौं – सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयक बुधबार बसेको बैठकले बहुमतले पारित गरेको हो ।

सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको सपथ लिने व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसदले सो ऐन बनाएको हो ।

ऐन कार्यान्वयनमा आएपछि अब सपथ खानेले ईश्वरको नाममा वा देश र जनताको नाममा सपथ खान सक्ने विकल्प राखिएको छ । यसअघि खाने सपथमा ईश्वरको नाममा मात्र सपथ लिने व्यवस्था थियो । तर प्रचलनमा भने इंश्वर वा जनता भन्ने प्रचलन थियो ।

ईश्वरको नाममा भन्न नचाहनेहरुले देश र जनताको नाममा भनेर सपथ खाने गर्दथे । २०६२÷६३ को आन्दोलनपछि पुनस्थापित प्रतिनिधिसभामा माओवादीको प्रवेश भएसँगै सपथमा देश र जनता भन्न थालिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग सपथ लिने बेला सपथमा रहेको ‘प्रतिज्ञा गर्दछु’ शब्द उच्चारण नगरी त्यो पर्दैन भनेका थिए ।

सपथ लिने बेला ओलीको सो व्यवहारको व्यापक आलोचना भएको थियो । संघीय संसदबाट पारित भएको विद्येयकको अनुसूचीमा राखिएको पद तथा गोपनीयताको ढाँचामा पनि प्रतिज्ञा गर्दै भन्ने शब्द राखिएको छ ।

सोही ढाँचा अनुसार सपथ खानुपर्ने विधेयकमा व्यवस्था रहेको छ । ढाँचा अनुसार सपथ ग्रहण नगरेमा सपथ नै रद्धसमेत हुन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस