Latest News

कांग्रेसका यी पुराना नेताले ज्यान गुमाए

Nepalese Times August 10, 2022 (1 Year ago)    244 Views

काठमाडौं ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गाउँ गएर पार्टीको पक्षमा अभियान चलाउँछु भन्दै आएका नेपाली कांग्रेसका पुराना नेता शालिकग्राम शाहको निधन भएको छ ।

केही समयदेखि बिरामी भए पनि राजनीति भनेपछि हुरुक्कै हुने उनले आगामी निर्वाचनमा पनि कांग्रेसको पक्षमा माहौला सिर्जना गर्ने बताएका थिए । गत साउन ३ गतेबाट ८४ वर्ष लागेका उनको साउन २१ गते काठमाडौंमा निधन भएको हो ।

वि.सं. २०१३ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय उनले कांग्रेस नै अबको एकमात्र विकल्प रहेको बतताउँथे। राजनीति गरे पनि कुनै पनि लाभको पद नलिएका उनी नेताहरुलाई गाली गर्नुभन्दा पनि उनीहरुलाई सही बाटोमा लाग्न पार्टी कार्यकर्ता र जनताले दवाव दिनुपर्ने बताउँथे । नेताहरुकै त्याग, तपस्या र वलिदानका कारण पछिल्लो समयमा धेरै राजनीतिक उपलब्धि भएको बताउने शाह नेपालले छिमेकी देशहरुसँग राम्रो सम्बन्ध राख्नुपर्ने तर उनीहरुले के स्वार्थ लिन खोज्दैछन् त्यसबारे भनें सचेत हुनुपर्ने बताउँथे ।

‘छिमेकी देशहरुले हामीलाई दूरबीन लाएर हेरिरहेका छन् त्यसमा उनीहरुको स्वार्थ छ भन्ने बुझ्नुपर्छ’ बिरामी भएर अस्पतालमा उपचाररत रहँदा पनि देश र कांग्रेसको बारेमा चिन्तित उनी भन्थे ‘हामीले सबैका कुरा सुन्नुपर्छ तर निर्णय भनें आफैं गर्नुपर्छ, यो कुरा ख्याल गर्न नेताहरुलाई सुझाव दिन्छु ।’

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौंको बूढानिलकण्ठ २ बस्दै आएका उनले मतदाता नामावली पनि सारेका थिएनन् । ‘म त गाउँ नै जान्छु भन्नुहुन्थ्यो, यति छिटो यस्तो होला भन्ने लागेको थिएन, राजनीतिको कुरा गर्न थालेपछि उहाँलाई बिरामी छु भन्ने नै लाग्दैनथ्यो’ श्रीमती सिता भन्छिन् ‘गाउँमा लामो समयदेखि राजनीति गरे पनि कहिल्यै पनि थाक्नुभएन, आफूले धेरैलाई नेता बनाउनुभयो तर उहाँ भने तल्लो तहमा बसेर नै काम गर्नुभयो ।’  सिताले उहाँको त्याग, तपस्या र योगदानका साथै नरम र सरलपनालाई अझै पनि जिल्लावासीले मात्र नभएर उहाँलाई चिन्नेले सम्झिरहेको बताइन् ।

कांग्रेसको नीति, सिद्धान्त र विचार ठिक भए पनि यसलाई प्रचार प्रसार गर्न नसकिएकोमा उनलाई चिन्ता लागेको थियो । पार्टीभित्र देखिएको आन्तरिक गुटबन्दीले पार्टीलाई असर पारेको बताउने शाह सधैं २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि पार्टीमा केही गलत संस्कारको विकास भएको बताउँथे ।

‘कृष्णप्रसाद भट्टराई (किसुनजी) लाई प्रधानमन्त्री आजै छोड् भोलि नै छोड् भन्ने कांग्रेसी नै थिए, त्यहीबेलादेखि कांग्रेस बिग्रियो’ उनी भन्थे ‘कांग्रेसले कसैलाई पनि विभेद गर्नु हुँदैन, गुटका आधारमा तेरो र मेरो भनेर छुट्याएपछि कांग्रेस संकटमा परेको छ ।’ शाहका एक श्रीमती, दुई छोरा, दुई छोरी, एक बुहारी र नाति नातिना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस