Latest News

विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले नेताहरूलाई पठाए यस्तो पत्र

Nepalese Times August 10, 2022 (1 Year ago)    343 Views

विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफ्नै नेतृत्वमा दल दर्ता गर्न निर्वाचन आयोगमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले आफूनिकट पार्टीका केन्द्रीय सदस्यहरूलाई इमेल पठाएर मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्न आयोग जानुपर्ने बताएका हुन्।

मिश्रले राजीनामा दिएको अढाइ महिना हुँदा पनि यसबारे केन्द्रीय समितिमा छलफलसमेत भएको छैन। निर्वाचन आयोगले साउन ३१ भित्र दल दर्ता गर्न समय दिएको छ।

‘दल दर्ता नगर्नु देशका विभिन्न ठाउँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिवद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ,’ मिश्रले पठाएको पत्रमा उल्लेख छ।

उनले आफू सक्रिय नभए दल दर्ता नहुने स्थिति देखिएको बताएका छन्। ‘कानूनत: म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन। तसर्थ म साथीहरूलाई विनम्र आग्रह गर्दछु। यसलाई गम्भिरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु,’ मिश्रले इमेलमा लेखेको कुराबारे उल्लेख गर्दै एक केन्द्रीय सदस्यले भने।

उनले केन्द्रीय समिति बैठक बस्न अहिले कोरम नपुग्ने पनि बताएका छन्। दल दर्ता प्रयोजनका लागि पार्टी कार्यालयमा भने मिनेट बुक राखिने र त्यसमा केन्द्रीय सदस्यले हस्ताक्षर गर्न सक्ने उनले बताए। काठमाडौं बाहिर रहेकाहरूले डिजिटल हस्ताक्षर गर्न सक्ने उनले बताए।

‘नयाँ नेतृत्व (अध्यक्ष) का लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै रहनु होला तर हाललाई भने सकभर बुधबार नै पार्टीको केन्द्रीय कार्यलयमा मध्यान्ह १२ बजेपछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हस्ताक्षर गरिदिन आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘राजीनामा दिएका तर मेरोजस्तै राजीनामा स्वीकृत नभएका साथीहरूलाई पनि यो गम्भिर विषयमा सहयोग गरिदिन अनुरोध गर्दछु।’

यस्तो छ मिश्रको पत्र:
आदरणीय साथीहरू,
मैले पार्टी अध्यक्षबाट राजीनामा दिएको झण्डै अढाई महिना भइसकेको छ। केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्न नसक्दा मेरो राजीनामा स्वीकृत भएको छैन। यस्तो परिस्थितिमा संघीय निर्वाचन घोषणासँगै निर्वाचन आयोगले साउन ३१ गते सम्ममा ‘निर्वाचन प्रयोजन’का लागि दल दर्ता गर्न आह्वान गरेको छ।

दल दर्ता नगर्नु देशका विभिन्न ठाऊँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिवद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ। दल दर्ता गर्न निर्वाचन आयोगले तोकेका निश्चित शर्तहरू पुरा गर्नुपर्छ। पार्टीमा अढाई महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै सम्भावना देखिँदैन।

नयाँ नेतृत्व निर्वाचन आयोगले अध्यावधिक गरेपछि मात्र उसको/उनको हष्ताक्षरले मान्यता प्राप्त गर्ने हो। यी सबै कामका लागि पर्खिन सक्ने स्थिति छैन। कानूनत: म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन। तसर्थ, म साथीहरूलाई निम्नानुसार विनम्र आग्रह गर्दछु। यसलाई गम्भिरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु।

१. अहिले हतारमा, छोटो सूचनामा, पार्टीको केन्द्रीय समितिको कोरम पुग्ने गरेर बैठक बस्न सक्ने स्थिति छैन। बाहिर जिल्लामा रहेका कतिपय साथीहरू तुरून्तै आउन सक्ने स्थिति पनि नहुन सक्छ। हामीले विगतमा पनि आपतकालीन स्थितिमा गरेको अभ्यास के हो भने, पार्टी केन्द्रीय कार्यालयमा मिनेट बुक राखिन्छ र काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूले समय मिलाएर पार्टी कार्यालय आइ मिनेट बुकमा हष्ताक्षर गर्ने गर्दछन्। बाहिर जिल्लामा भएका साथीहरूको तोकिएको प्रयोजनका लागि मात्र भनेर डिजिटल हस्ताक्षर मागिने छ।

२. यो कतिपय साथीहरूका लागि अनुकूल विकल्प नहुने सक्छ तर अढाई महिनामा ननिस्केको सहमति अहिले निस्कने र अर्को विकल्पका साथ अघि बढ्ने सक्ने कुनै सम्भावना देखिँदैन। नयाँ नेतृत्व (अध्यक्ष) का लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै रहनु होला तर हाललाई भने सकभर भोलि बुधबार नै पार्टीको केन्द्रीय कार्यलयमा दिउँसो १२ बजे पछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हस्ताक्षर गरिदिन आग्रह गर्दछु।

राजीनामा दिएका तर मेरोजस्तै राजीनामा स्वीकृत नभएका साथीहरूलाई पनि यो गम्भिर विषयमा सहयोग गरिदिन अनुरोध गर्दछु। यो विषयमा तर्क गरेर बस्नु भनेको निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता नहुनु हो। सहयोग नगर्ने साथीहरूले पार्टी सदस्यहरूको प्रश्नको जवाफ दिनु पर्नेछ। पार्टीभित्र जतिसुकै विवाद भए पनि यो विषयमा यहाँहरूको तत्काल सहयोगको अपेक्षा गर्दछु।

– रवीन्द्र मिश्र

प्रतिक्रिया दिनुहोस