Latest News

प्रचण्डले जापानबाटै गरे उम्मेदवारी घोषणा, कहाँबाट चुनाव लड्ने भए ?

Nepalese Times August 10, 2022 (1 Year ago)    389 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै चुनाव लड्ने बताएका छन्। आफूले चार/पाँच महिना अघिदेखि नै चितवनबाटै चुनाव लड्ने बताइरहेको उल्लेख गरे।

जापानमा रहेका प्रचण्डले मंगलबार पत्रकारहरूसँग भने, ‘म अन्तबाट होइन, चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाटै चुनाव लड्छु, प्रष्ट हुनुहोला।’

‘देशभरको समृद्धिका लागि म सोच्छु, चितवन देशको केन्द्र र विकासको तीव्र गतिमा अघि जाने सम्भावना भएकोले एउटा सन्देश जाओस् भनेर चितवनलाई मैले महत्व दिइरहेको छु,’ उनले भने, ‘म अपिल गर्छु, जापानमा रहेका साथीहरूले पनि सहयोग गर्नुहोस्।’

आफूलाई चुनाव लड्न आइदिन कालिकोट, रूकुम, गोरखा, धनुषा, सिराहाका नेता/कार्यकर्ताले आग्रह गरिरहेको पनि उनले बताए। तर चितवन ३ बाटै चुनाव लड्ने उनले बताए।

‘साथीहरूलाई के परेको छ भने प्रचण्ड आए विकास तीव्र रूपमा हुन्थ्यो भन्ने छ। मैले साथीहरूलाई धन्यबाद भन्दै यसपटक चितवनबाटै लड्छु भनेको छु,’ उनले भने।

यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता नगर्ने विश्वास गरेका छन् । जापानमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले ठुलो समस्या समाधानका लागि ल्याइएको विधेयक राष्ट्रपतिले फिर्ता नगर्ने बताएका हुन् ।

“नागरिकतामा विशेष गरेर तराई मधेसका जनताका छोरा छोरीको समस्या प्रवल रहेको छ । त्यस कारण त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले गरेको प्रस्तावलाई राष्ट्रपतीले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । उहाँले गर्नु पनि हुन्न भन्ने लाग्छ,” उनले भने ।

उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरे राम्रो नहुने पनि बताए । “फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन, फेरि जान्छ र हस्ताक्षर गर्नैपर्ने अवस्था आउँछ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस