Latest News

गएरातिको अविरल वर्षाले काठमाडौंकै बस्ती डुबानमा, अहिलेसम्म कति जनाको भयो उद्धार ?

Nepalese Times August 10, 2022 (1 Year ago)    334 Views

काठमाडौं ।

गएरातिदेखिको अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेका छन् ।

प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको प्रहरीले बताएका छन् । त्यस क्षेत्रमा बिजुली पनि अवरूद्ध भएको छ। कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको देखिएको प्रहरीले जनाएको छ।

खहरेमाथि राडारबाट दुई जना पुरूषको उद्धार गरिएको प्रहरीले जनाएको छ। तीन साना र चार ठूला गाडी पनि बाढीबाट बाहिर निकालिएको छ।

हरहरमहादेव नजिकै गाईगोठमा रहेका सात जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा नेपाल प्रहरी र २७ जना सशस्त्र प्रहरी परिचालन गरिएका छन्।

यो क्षेत्रबाट १५ जनाको उद्धार गरिसकिएको प्रहरीले बताएको छ। विष्ट गाउँका एक तलासम्मका घर डुवानमा परेका छन्। बाढीले सुकुम्वासी टोलको दुइटा टहरा भत्केको छ।

यस्तै हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको छ।

अबको २४ घण्टाभित्र देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सूदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को चेतावनी छ ।

बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,बागमती र गण्डकी प्रदेशका एक-वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार राती बागमती, गण्डकी, लुम्विनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस