Latest News

जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा

Nepalese Times August 10, 2022 (1 Year ago)    372 Views

काठमाडौं ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक सङ्घ-संस्था र स्वास्थ्य संस्था बन्द हुने छन् । गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा हरेक जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नारायणथान जात्राको रुपमा समेत परिचित सो जात्रा मनाउन तेमाललगायत आसपासका क्षेत्रका बासिन्दाको समेत सहभागिता रहँदै आएको छ ।

परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए । “जनैपूर्णिमाको अवसरमा नारायणस्थान मन्दिरमा धार्मिक अनुष्ठानसमेत हुने भएकाले बिदा दिने निर्णय गरेका हौँ”, उनले भने ।

जनैपूर्णिमा, हिन्दु धर्मावलम्बीहरूले सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्। रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ।

तागाधारीले पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाउने धार्मिक प्रचलन रहिआएको छ। सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ।

तराईतिर भने यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधीदिने चलन छ। नेवार समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनेर मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउने गर्दछन्।

यस दिन उपत्यकाका किसानले आ–आफ्ना खेतमा गएर भ्यागुता पूजा गरेर सिमीको पातमा क्वाँटी भात खुवाउने चलन भएकाले यस पर्वलाई ‘ब्याँ जा नकेगु’ (भ्यागुतालाई भात खुवाउने) भन्ने पनि गरिन्छ।

‘रुद्रयामलतन्त्रे महादेव वचन’ का अनुसार प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरी मानिसको संहार गर्न खोज्दा एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएकाले जनैपूर्णिमाका दिन उनीहरूले गरेको गुन सम्झी त्यसरी भात खुवाई कृतज्ञता ज्ञापनस्वरुप सो यस कार्य गर्ने गरिएको लोककथन छ।

यसै दिन गोसाइँकुण्ड (शिवलुती), मणिचूड दह र गोसाइँकुण्डबाट पानी आइराखेको जनविश्वास रहेको ललितपुरको कुम्भेश्वरमा ठूलो मेला लाग्ने गर्दछ। प्राचीनकालमा कुम्भ ऋषिले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वर नामले प्रसिद्ध भएको उक्त तीर्थमा गोसाइँकुण्ड जान नसकेकाहरूले स्नान गरेर कुम्भेश्वर महादेवको पूजा अर्चना गर्दछन्।

नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने गरिन्छ। यसै दिन भक्तपुरमा तलेजु भवानीका तर्फबाट ‘घिंताँ किसी’ नाच निकाली भक्तपुर नगर परिक्रमा गराइन्छ। यसै दिनदेखि राजधानी तथा अन्य ठाउँमा बौद्ध धर्मावलम्बीहरू गुँलाबाजा (एक प्रकारको बाजा) बजाउँदै विभिन्न बाहा र बहीमा राखिएका दीपंकर तथागत, बुद्ध बोद्धिसत्वलोकेश्वर, तारा आदिका मूर्तिहरू, पौवा, हस्तलिखित ग्रन्थहरू हेर्न जाने गर्दछन्।

प्रतिक्रिया दिनुहोस