Latest News

फोहोर व्यवस्थापनका गाडी तोडफोड भएपछि मेयर बालेन आक्रोशित, दिए कडा चेतावनी

Nepalese Times August 9, 2022 (1 Year ago)    450 Views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले काठमाडौंको फोहोर लिएर गएको गाडीमाथि भएको तोडफोडलाई लिएर कडा प्रतिक्रिया जनाएका छन् ।

तोडफोड गरिएको टिपर तथा डोजरको फोटोसहित सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले आफ्नो आक्रोश व्यक्त गरेका हुन् । वर्षौंदेखिको फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ–नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको उनले बताएका छन् ।

मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनका गाडी तोडफोड गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। फोहोर लिएर बन्चरेडाँडा ल्याण्डफिल साइटमा पुगेका एक दर्जन बढी गाडी आइतबार राति तोडफोड भएपछि मेयर शाहले यस्तो चेतावनी दिएका हुन्।

‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो। वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ।’

उनले तोडफोड गरिएका गाडीको तस्बिर राख्दै कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो भनेका छन्।

‘कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ’ उनले भनेका छन्, ‘ तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ। यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ।’

शाहले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने पनि स्पष्ट पारेका छन्। साथै विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध नगर्न आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस