Latest News

निर्वाचनका लागि एमालेले गरायो दल दर्ता, दर्ता नम्बर कति ?

Nepalese Times August 9, 2022 (1 Year ago)    231 Views

काठमाडौं ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन नेकपा एमालेले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार बिहान एमालेका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।

संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

आयोगले दल दर्ताका लागि साउन ३१ गतेसम्मको समय तोकेको छ । यसअघि आयोगमा दर्ता भएका दलहरुले पनि निवर्नाचन प्रयोजनमा भाग लिन पुन दल दर्ता गराउनुपर्ने व्यवस्था छ ।

दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र बुझाएपछि आयोगले १० औं नम्बरमा एमालेको निवेदन दर्ता गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए । दर्ता नम्बर ३८१ रहेको छ।

यसअघि आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । त्यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भएका थिए ।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस