Latest News

गठबन्धनको सिट बाँडफाँटका लागि कृष्ण सिटौलाले पाए मुख्य जिम्मेवारी

Nepalese Times August 8, 2022 (1 Year ago)    371 Views

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको संयोजकमा कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला चयन भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो बैठकले सिटौलालाई बैठकको संयोजन गर्ने जिम्मा दिएको हो । पहिलो बैठकमा सबैले आ आफ्नो धारणा राखेको र ठोस कार्ययोजनासहित साउन २६ गते अर्को बैठक बस्ने एक नेताले बताए ।

यो कार्यदलले सिट बाँडफाँटको लागि विस्तृत छलफल गरेर आफ्नो प्रतिवेदन शीर्ष बैठकमा पेश गर्ने उनले एक नेताले बताए ।

पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो।

कार्यदलमा नेपाली कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन्। कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्।

त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

आजको बैठकले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने बताइएको छ। सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ।

बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान पार्टीले गठबन्धनको लागि प्रयास गरिरहेको बेला पाँच दलले भने गठबन्धनबाहेकलाई सहभागी नगराउने निर्णय गरेका छन्।

कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्ने पक्षमा काँग्रेस देखिन्छ।

त्यसअनुसार ७६ निर्वाचन क्षेत्रमा काँग्रेसले सबैभन्दा बढी मत पाएको छ। ती निर्वाचन क्षेत्र काँग्रेसले आगामी निर्वाचनमा नछाड्ने पक्षमा रहेको जानकारी दिँदै एक नेताले एमालेले सबैभन्दा धेरै मत पाएको प्रतिनिधिसभाको ७१ निर्वाचन क्षेत्रका विषयमा कार्यदलले बढी काम गर्ने दाबी गरे ।

त्यसरी अघि बढ्दा प्रत्यक्षतर्फ माओवादी केन्द्र करिब ४०, नेकपा एस र जसपाले १०र१५ क्षेत्र प्रत्यक्षतर्फ पाउने नेताहरूको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस