Latest News

कमल थापाले पनि गरे उम्मेदवारी घोषणा, कहाँबाट कोसँग लड्ने भए ?

Nepalese Times August 8, 2022 (1 Year ago)    392 Views

मकवानपुर ।

चुनावको मिति घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन् । दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन् । चुनावको मिति नजिकिएसँगै मकवानपुरमा पनि राजनीतिक चहलपहल सुरु भएको छ ।

दल र दलमा आबद्ध नेताहरूले आ–आफ्नो तयारी अनुसार चुनावी क्षेत्रमा माग दाबी तथा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यसैबीच मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी आमनिर्वाचन रोचक हुने देखिन्छ ।

एकातर्फ नेकपा एमाले र अर्कोतर्फ ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारबीच भिडन्त हुने आकलन गरिरहँदा सो क्षेत्रमा राप्रपा र राप्रपा नेपाल पनि मैदानमा उत्रिने तयारीमा छन् । मकवानपुर–१ मा एमालेबाट कृष्णप्रसाद दाहाल, मदन दाहाल र रघुनाथ खुलालको चर्चा छ भने काँग्रेसबाट इन्द्रबहादुर बानियाँ दाबेदार रहेको बताइएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा भने सो क्षेत्रमा खासै चर्चा भएको छैन ।

यस क्षेत्रबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उम्मेदवार बन्ने तयारीमा छन् । तर उनलाई राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह चुनौती बन्ने देखिन्छन् । दुवै नेताको निर्वाचन क्षेत्र मकवानपुर–१ नै हो । थापा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६ का मतदाता हुन् भने सिंह हेटौँडा–४ बाट मतदाता छन् ।

४० वर्षभन्दा बढी समय एउटै पार्टीमा रहेर सक्रिय राजनीति गरेका उनीहरू आगामी निर्वाचनमा एक अर्काका प्रतिस्पर्धीका रूपमा देखिने भएका छन् । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल गठन गरेका थिए । थापाले सोही पार्टीको ‘तीर’ चुनाव चिन्हबाट मकवानपुर–१ मा उम्मेदवार भएर निर्वाचनमा जाने घोषणा गरिसकेका छन् ।

​२०५१ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको–१ बाट विजयी भएका थापा त्यस यता प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुन सकेका छैनन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा नेपाली माओवादी केन्द्रका प्रह्लाद लामिछानेसँग सोही क्षेत्र ९तत्कालीन मकवानपुर–३० बाट पराजित भएका थिए भने २०७४ को निर्वाचनमा काँग्रेस कै सहयोगमा उनी सो क्षेत्रबाट उम्मेदवार बनेका थिए । तत्कालीन समयमा एमाले र माओवादी केन्द्रको एलाइन्स विरुद्ध काँग्रेस, राप्रपा नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल बीच गठबन्धन बनेको थियो ।

उनलाई सो क्षेत्र दिँदा काँग्रेसका इन्द्रबहादुर बानियाँले र नयाँ शक्ति नेपालका प्रह्लाद लामिछानेले टिकट गुमाउनु परेको थियो । सो क्षेत्रमा टिकट गुमाएपछि बानियाँ मकवानपुर–२ को खबाट प्रदेश सांसद निर्वाचित भएका थिए भने प्रह्लाद लामिछानेले पार्टी छोडेका थिए ।

सो निर्वाचनमा काँग्रेससँगको तालमेलमा निर्वाचन लडेका थापालाई एमालेका कृष्णप्रसाद दाहालले पराजित गरेका थिए ।

आगामी निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने अपेक्षा राखेका छन् । एक्लै निर्वाचनमा जित्ने सम्भावना नभएपछि उनी एमालेसँगको तालमेल गर्ने सोचमा छन् ।

एमालेसँग तालमेल गरेर मकवानपुर–१ मा अध्यक्ष आफू उम्मेदवार हुने र देशका अन्य स्थानमा एमालेलाई सघाउने थापाको योजना छ । सोही योजना अनुसार अध्यक्ष थापाले गत स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवार उठाएका थिएनन् । उनले एमालेसँग तालमेल गरे पनि आफ्ना उम्मेदवार नउठाएर एमालेका उम्मेदवारलाई सघाउने भन्दै विज्ञप्ति नै जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस