Latest News

निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले फेरि मच्चाए अर्को काण्ड, बाटो ढुकेर युवतीलाई यतिसम्म गरे !

Nepalese Times August 8, 2022 (1 Year ago)    423 Views

धनगढी । चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त हत्याको २५ दिनपछि  समातिएका भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टले फेरि अर्को काण्ड मच्चाएका छन् ।

चार वर्षअघि निर्मला हत्या प्रकरणमा पक्राउ परेर छुटेका विष्टले युवतीहरुलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । दिलिपले बाटोमा हिड्ने किशोरी तथा युवतीलाई जिस्काउन थालेको गुनासो गरिएको छ ।

निर्मला मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई जिस्काउन थालेको गुनासो आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

बाटोमा हिड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई जिस्काएको गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिए ।

‘हामी कहाँ दिलिप विष्टले जिस्कायो भनेर ती युवतीका अभिभावक आउनुभएको थियो,’ एसपी चौधरीले भने, ‘यो कुरालाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्ने काम गरिरहेका छौं ।’

युवती जिस्काएको भन्ने गुनासोका आधारमा आरोपीत दिलिप विष्टसँग सोधपुछ गर्ने काम भए/नभएको प्रहरीले खुलाएको छैन, तर यही विषयलाई लिएर विष्टलाई नियन्त्रण लिने काम नगरिएको एसपी चौधरी बताउँछन् ।

चार वर्षअघि बलात्कारपछि निर्मलाको हत्या आरोपमा पक्राउ परेर छुटेका विष्टले सोही आसपासमा हिड्ने किशोरी तथा युवतीहरुलाई जिस्काउन थालेपछि अभिभावक त्रसित भएका छन् भने किशोरी तथा बालिकाहरुले असुरक्षा महसुस गर्न थालेका छन् ।

दिलिपको पुरानो रेकर्ड एकदमै खराब छ भन्ने जानिबुझी उनलाई कारबाही चलाउन अग्रसरता लिइएको छैन । प्रहरीसँगको बयानका क्रममा विष्टले निर्मलाको आफूले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दाबी गरिएको थियो । मानसिक सन्तुलन ठीक नभएका विष्ट यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा जेल परेर छुटेका थिए ।

निर्मला प्रकरणमा प्रहरीले मानसिक सन्तुलन ठीक नभएका विष्टलाई पक्राउ गरेर वास्तविक दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन समेत चर्किएको थियो । सो क्रममा आन्दोलनले हिंसात्मक रुप लिंदा प्रहरीले चलाएको गोली लागेर ८ भदौमा स्थानीय १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी र सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्ट बर्खास्तसमेत भए ।

गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सीआईबीका तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउँदलाई पनि निलम्बन गरेको थियो । तर पछि उनीहरुले प्रमाण नष्ट गरेको तथा याचना दिएको मुद्दामा अदालतबाट सफाइ पाएपछि अहिले निलम्बन फुकुवा भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस