Latest News

रवीन्द्र मिश्र राप्रपामा जाने, पाउने भए महत्वपूर्ण जिम्मेवारी !

Nepalese Times August 7, 2022 (1 Year ago)    373 Views

काठमाडौं –

विवेकशील साझाको नेतृत्व छाडेर सार्वजनिक रूपमा संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहेका रवीन्द्र मिश्र राप्रपामा जाने भएका छन् ।

उनले राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सह–अध्यक्ष पद मागेको खुलेकाे छ । राप्रपाका एक नेताका अनुसार उनले राजेन्द्र लिङ्देन पछिको हैसियत दिएमा आफू राप्रपामा आउन तयार रहेको बताएको तर यसबारे निर्णय भई सकेको छैन ।

स्थानीय तहको निर्वाचनमा समेत राप्रपासँग तालमेलको लागि छलफल गरेका मिश्र पार्टीभित्रै विरोध भएपछि ब्याक भएका थिए। स्थानीय तहको निर्वाचनमा पार्टीले आशा गरे अनुसारको नतिजा नल्याएपछि नैतिकताका आधारमा भन्दै उनले सदस्य मात्र रहने गरी राजीनामा दिएका थिए ।

उनले राजीनामा दिए पनि पार्टीले नयाँ नेतृत्व चयन भने गर्न सकेको छैन। मिश्रले आफ्ना लागि सह-अध्यक्ष र आफ्नो पक्षका साझाका प्रवक्ता शरद पाठकलाई महामन्त्री पद दिनुपर्ने माग राखेका स्राेतकाे दावी छ ।

उता, राजसंस्थाको माग गर्दै राजनीति गरिरहेको राप्रपाका नेताहरुले भने मिश्रसँग एकताको लागि गृहकार्य गरेको पाईएको छ। अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि लिङ्देन र मिश्रबीच भेटवार्ता भएको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले विवेकशील साझाका अध्यक्ष मिश्रसँग छलफल गरेका थिए।

आफ्नै निवासमा भएको उक्त भेटमा राजनीतिसँगै राजकाज संवाद भएको मिश्रले बताएका थिए छलफलपछि मिश्रले भनेका थिए, ‘राजनीति, समाज र देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो ।’

विश्वस्त सूत्रका अनुसार मिश्र पदमा कुरा मिले केहि दिनमै राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि अहिले उनी र राप्रपा नेतृत्व तहमा छलफल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस