Latest News

‘कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशीले गरे उम्मेदवारी घोषणा, कहाँबाट चुनाव लड्ने भए ?

Nepalese Times August 7, 2022 (1 Year ago)    319 Views

काठमाडौं । नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्वमन्त्री गोविन्दराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् । उनले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत तनहुँ १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने जोशीले बताएका छन् ।

तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । गत निर्वाचनमा जोशीले वागी उम्मेवारी दिएपछि पार्टीले उनलाई निष्कासन गरेको थियो ।

जोशीले कांग्रेसले पाखा पारेका सबै नेता(कार्यकर्तालाई ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत उम्मेदवारी दिन आह्वान गरे ।

सत्ता गठबन्धनको विरोध गर्दै उनलले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले कांग्रेस सिध्याउन खोजेको आरोप लगाए । ‘पाँच पार्टीको गठबन्धन र एउटै घोषणापत्र बन्ने होला, चुनाव चिह्न एउटैमा लड्ने होलान्,’ जोशीले भने, ‘कांग्रेस अब कांग्रेस रहेन ।’

उनले आगामी चुनाव जित्नेमा ढुक्क रहेकोसमेत बताए । ‘स्थानीय तहको चुनावमा पाएको मतले पनि हामीले चुनाव जित्न गाह्रो नभएको देखिन्छ, चुनाव जित्नेमा ढुक्क छु,’ जोशीले भने ।

गत स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयर पदमा जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । तर उनी कांग्रेसका वैकुण्ठ नाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस