Latest News

कांग्रेसका यी नेताहरु प्रधानमन्त्री बन्ने दौडमा, मंसिरको चुनावपछि कसले मार्ला बाजी ?

Nepalese Times August 7, 2022 (1 Year ago)    377 Views

काठमाडौं ।

मंसिर ४ गते संसदीय दलको चुनावको मिति घोषणा भएसँगै राजनीतिक गतिविधि ह्वात्तै बढेको छ ।

स्वतन्त्रदेखि राजनीतिक दलका नेताहरु घरदैलो कार्यक्रममा जुटिसकेका छन् । कतिपयले उम्मेदवारी घोषणासमेत गरिसकेका छन् ।

केपी शर्मा ओलीले संसद विघटन गरेपछि एक ठाउँमा आएका सत्ता गठबन्धनका दलहरु पनि यो चुनावमा गठबन्धन नै गरेर अघि बढ्ने सहमति गरेर सिट बाँडफाँडका लागि समिति नै बनाएर अघि बढिसकेका छन् ।

तर, संसदीय चुनावपछिको प्रधानमन्त्री को बन्लान् ? भन्ने आम चासो रहेको छ । स्थानीय तहको चुनावमा जस्तै सत्ता गठबन्धन भएमा कांग्रेसले अलि बढि सिट राख्ने भएकोले कांग्रेस नै पहिलो पार्टी बन्ने र उसैले प्रधानमन्त्री पद पाउने सम्भावना पनि छ ।

कांग्रेसबाटै प्रधानमन्त्री खोजिने भएसँगै नेपाली कांग्रेसभित्र अबको प्रधानमन्त्री को हो ? भन्ने खोजीसमेत सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा रहेका छन् ।  संसदीय चुनावपछि सबैभन्दा ठूलो दलका संसदीय दलका नेता आफू नै रहने र प्रधानमन्त्रीको बागडोर पनि आफैंले सम्हाल्ने प्रधानमन्त्री देउवालाई लागेको छ ।

उनले आफू प्रधानमन्त्री बन्न नपाएको खण्डमा पत्नी एवम् नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनाउने रणनीति कसेका छन् ।

सत्ता गठबन्धन कायम रहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आलोपालो प्रधानमन्त्री बन्ने विषय राजनीतिक वृत्तमा गर्मराएको धेरै समय भएको छैन । यदि आफू प्रधानमन्त्री बन्न सक्ने अवस्था नरहे आरजुलाई प्रधानमन्त्री बनाउन देउवाले अहिलेदेखि नै कसरत सुरु गरिसकेका छन् ।

नेपाली कांग्रेसमा अर्का नेता डा. शेखर कोइरालाले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् । यसअघिको चुनावमा पराजित भएका शेखर अहिलेको चुनावमा भने जसरी पनि जित्ने र प्रधानमन्त्री बन्ने दौडमा रहेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित उनले आफू प्रधानमन्त्री बनेमा भनेजस्तो काम गरेर देखाउने बताइरहेका छन् ।

यस्तै नेपाली कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा उभ्याएका छन् । पटक–पटक परीक्षण भइसकेको व्यक्तिबाट फेरि पनि देश बन्ने अपेक्षा राख्नु गलत भएको भन्दै उनले एकपटक प्रधानमन्त्री भएर देश चलाउने चाहना रहेको र त्यसका लागि आफूसँग स्पष्ट भिजनसमेत रहेको बताउन थालेका छन् ।

कांग्रेसका महामन्त्री गगन थापा पनि प्रधानमन्त्री बन्ने दौडमा रहेका छन् । यसअघि एक टेलिभिजन कार्यक्रममार्फत नै उनले आफू प्रधानमन्त्री बन्ने दौडमा रहेको खुलासा गरेका थिए ।

पुराना पुस्तालाई विश्राम गर्न दिने र अब आफ्नो पुस्ताका नेताहरुले देश संचालनको जिम्मेवारी लिनुपर्ने उनको तर्क छ । पार्टीबाट सहमति भएर आएमा आफू प्रधानमन्त्री बन्न तयार रहेको र प्रधानमन्त्री पद हाँक्ने शक्ति आफूसँग रहेको उनको दाबी रहेको ।

गगन थापा प्रधानमन्त्री बन्ने विषयमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि समर्थन रहेको छ । यदि गगन थापालाई प्रधानमन्त्री बनाउने भन्ने प्रस्ताव पार्टीबाट आयो भने आफ्नो पूर्ण समर्थन रहने विश्वप्रकाशको भनाइ छ ।

गगन थापा यसअघि शेखर कोइराला प्यानलबाट महामन्त्री पदमा विजयी भएका थिए भने विश्वप्रकाश प्रकाशमान सिंह प्यानलबाट महामन्त्री पदमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस