Latest News

माधव नेपालका विश्वासपात्र नै फर्किए एमालेमा, ओलीले स्वागत गर्दै के- के भने ?

Nepalese Times August 7, 2022 (1 Year ago)    251 Views

काठमाडौं –

नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका अगुवा कार्यकर्ताहरू एमालेमै फर्किएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले शनिबार उनीहरूलाई पार्टीमा स्वागत गरे ।

सो अवसरमा अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न नपर्ने वताउँदै आफ्नै घर फर्कनेले भविष्य के होला भनेर चिन्ता नगरी ढुक्क भएर काम गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउनैपर्ने भएकाले पार्टी निर्वाचन केन्द्रित काममा जुटेको र पार्टी प्रवेश कार्यक्रम मंसीर ४ गतेसम्मै चल्ने बताए ।

संसदको निर्वाचन हार्ने छुट पार्टीलाई नभएको वताउँदै अध्यक्षले भन्नुभयो–‘परमादेशी गठबन्धन सरकार अहिले त यति उदण्ड छ, निर्वाचनमा जनमत पायो भने यो देश अर्को पाँचबर्षमा अस्थिपञ्जर हुन्छ, गठबन्धनलाई पराजित गर्नैपर्छ ।’
अध्यक्ष ओलीले नेपालमा कम्युुनिष्ट आन्दोलनले प्राप्त गरेको सफलता देख्न नसकेर, सहन नसकेर डेढबर्ष अघि दुनियाँका प्रतिक्रियावादीले पार्टी ध्वस्त बनाउने भयानक षडयन्त्र गरेको चर्चा गरे ।

अध्यक्ष ओलीले भने– ‘आजको दुनियाँमा नेपालमा कम्युनिष्टहरूको करिव दुईतिहाई बहुमत आउने, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबैतिर कम्युनिष्टको दिग्विजय सहिसक्नु नभएपछि देखाइदिन्छौं भनेर लागे । पार्टी विभाजन भयो ।’

त्यो षडयन्त्रमा नेताहरू संलग्न भएको कुरा कार्यकर्ताले पनि थाहा पाउनुपर्ने हो तर नेताको कुकर्म नदेख्नेगरी, थाहा नपाउने गरी माओवादी कार्यकर्ताका आँखामा बाक्लो कालोपट्टी बाँधिदिएको उनको भनाई थियो ।

नेकपा माओवादी केन्द्रलाई २०७४ सालको निर्वाचनमा एमालेले डोरीले तानेर दुर्घटनाबाट बचाएको र अहिले माओवादीको गाडी प्रचण्डले दाहिने मोड्दा दुर्घटना भई रूखमा गएर अड्किएको चर्चा गर्दै अध्यक्ष ओलीले भने– ‘यतिबेला रूख नढलोस् र आफ्नो गाडि दुर्घटनामा नपरोस् भन्ने अवस्थामा पुगेको छ माओवादी ।’

माओवादी कार्यकर्तालाई एमालेमा स्वागत गर्ने आशयका साथ अध्यक्ष ओलीले भने – ‘म माओवादीका कार्यकर्तालाई भन्न चाहन्छु, कम्युनिष्ट बर्को ओढेर केही हुँदैन । एकबारको जिन्दगी गलत विचार, गलत उद्देश्य र गलत क्रियाकलापका लागि किन बर्बाद गर्ने ? बर्बाद नगर्नुृस् । ’

‘समाजवादी आन्दोलनका लागि सही विचार, सही गन्तव्य भएको पार्टी चाहिन्छ, त्यो एमाले हो, भ्रममै रहेर सही विचार र गन्तव्यलाई गाली गरिरहनुहुन्छ भने मेरो के लाग्छ ?’

कम्युनिष्ट कार्यकर्ता मात्र होइन, काँग्रेसभित्र लोकतन्त्रका लागि लागेका थुप्रो कार्यकर्ता नेतृत्वको गलत काम, गलत बाटोका कारण भक्कानिएर बसेका छन, उनीहरूसँग पनि कुरा गर्नुपर्छ, उनीहरूले खोजेको चिज हामीसँग पाउने छन् ।’
पार्टी प्रवेश गर्नेहरूका तर्फबाट बोल्दै नेता भोला पोखरेलले यो प्रवेश साङ्केतिक भएको र नेकपा एकीकृत समाजवादीमा धेरै राम्रा साथीहरू पुरानै घर एमालेमा फर्कन ताँती लागेर बसिरहेको बताए ।

कर्मचारी राजनीतिमा परिचित नेता पोखरेलले हिजो भ्रममा परेर कम्युनिष्ट आन्दोलन समाप्तिको दिशामा उछिट्टिएर लागेको र आज आन्दोलनको रक्षा गर्ने यात्रामा फर्केको बताए ।

उनले सबै हिसावले आन्दोलनको नेता केपी शर्मा ओली हुनुहुँदो रहेछ भन्ने निष्कर्षमा आफू पुगेको र कार्यकर्ताको संरक्षण बाहेक ज्वाईलाई राजदूत बनाउने जस्ता स्वार्थ अध्यक्ष ओलीमा आफूले नदेखेको बताए ।

 

प्रतिक्रिया दिनुहोस