Latest News

माधव नेपालविरुद्ध उम्मेदवारी घोषणा गरेका अनुप बोहोराले जारी गरे यस्तो अपिल

Nepalese Times August 6, 2022 (1 Year ago)    315 Views

काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै धमाधम उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ । स्वतन्त्रदेखि पार्टीका नेताहरुसमेतले चुनावी क्षेत्र नै तोकेर उम्मेदवारी घोषणा गरिरहेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरुले समेत सिट बाँडफाँडका लागि कार्यदल बनाइसकेको छ ।

यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन र नेकपा एमालेबाट कसले उम्मेदवारी देलान् ? भन्ने आम चासो भइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अनुप बोहोराले भने उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि माधव कुमार नेपालको क्षेत्र रहेको काठमाडौं क्षेत्र नम्बर २ मा आफूले उम्मेदवारी दिने उनले बताएका छन् । बिजनेस एड्मिनिस्टे्रसनमा स्नातक गरेका बोहोरा सफल व्यवसायीसमेत हुन् ।

स्थानीय युवामाझ परिचित बोहोराले परिवर्तन कुनै पाकेको फल नभएको र पर्खेर बसे परिवर्तन नहुने धारणाका साथ उम्मेदवारी दिन लागेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला देशव्यापी संगठन बनाउन व्यस्त छ । बोहोरा पनि आफ्नो चुनावी अभियानमा होमिइसकेका छन् ।

उक्त क्षेत्रमा गत संसदीय निर्वाचनमा नेकपा एसका अध्यक्ष नेपाल निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले १४ हजार ९ सय मत पाएर दोस्रो भएका थिए । विवेकशील साझाका तर्फबाट डा. सूर्यराज आचार्यले भने ७ हजार ४ सय ३६ मत प्राप्त गरेका थिए ।

आगामी निर्वाचनमा पनि अध्यक्ष नेपाल सोही क्षेत्रबाट उठ्ने तयारी गरेका छन् । युवा उम्मेदवार बोहोराले नेपालसँग आफू प्रतिस्पर्धा गर्न सक्षम रहेको र जनताले आफूलाई मत हाल्ने विश्वास व्यक्त गरेका छन् ।

उम्मेदवारी घोषणासँगै उनले यस्तो अपिलपत्र समेत सार्वजनिक गरेका छन्:

नमस्कार, म अनुप बोहोरा, राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य
सरकारले यही आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ । सर्वप्रथम देशैभरि छरिएर रहनु भएका मताधिकार प्राप्त करीब २ करोड नागरिकलाई आफ्नो विवेकले ‘हाम्रो भन्दा पनि राम्रो’ उम्मेदवारलाई मत दिन हार्दिक अनुरोध गर्दछु ।

म आफैं काठमाडौँ क्षेत्र नम्बर २ बाट संसदीय उम्मेदवारको प्रत्यासी हुँ । मैले जेष्ठ ३० गते म निर्वाचन लड्ने घोषणा गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको हुँ । आउँदो निर्वाचनबाट देशको समग्र बागडोर नयाँ र पछिल्लो पुस्ताको हातमा पर्छ भन्नेमा म विश्वस्त छु । यसका लागि देशैभर सक्षम युवाहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

म राष्ट्रिय स्वतन्त्र पार्टीको एक इमान्दार सदस्य भएको हैसियतले यहाँहरूलाई के भन्न चाहन्छु भने, अहिलेसम्म स्वतन्त्र र पार्टीगत रूपमा ज-जसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुभएको छ या गर्ने मानसिकतामा हुनुहुन्छ, सबै आउनुहोस् र एकै ठाउँमा गोलबद्ध भएर देशको मुहार फेर्ने प्रतिबद्धता जनाऔं ।

पुर्खाले रगत साटेर आर्जन गरेको सुन्दर देश नेपाललाई राजनीतिक फोहोरीपनबाट निकाल्न हामी सबैले एउटा ‘मेगा एलायन्स’ गरेर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो । यो सुन्दर देशमा असक्षमहरूले राज गर्नुको प्रमुख कारण सक्षम युवाहरूको विभाजन पनि हो भन्ने कुरालाई स्वीकार गर्दै हामी एक हुनुको विकल्प नरहेको म अपील गर्न चाहन्छु ।

त्यसैले देशको नेतृत्व लिन सक्षम युवा-युवाबीचको फाटो यहीं अन्त्य गरौँ । सबै एउटै छातामुनी गोलबद्ध होऔं र आगामी निर्वाचनमा स-धन्यवादसहित पुराना राजनीतिक दल र नेतृत्वलाई विदाई गरौँ ।
-धन्यवाद

प्रतिक्रिया दिनुहोस