Latest News

प्रधानमन्त्री भएर काम गर्न चाहन्छु : प्रकाशमान सिंह

Nepalese Times August 6, 2022 (1 Year ago)    306 Views

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पटकपटक जनमत अपमान गर्नेविरुद्ध गठबन्धन गर्नुपरेको बताएका छन्।

उनले नाम नलिईकन नेकपा एमाले तथा यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कटाक्ष गर्दै आफूहरूले गठबन्धन गरेर देशलाई ठूलो दुर्घटनाबाट बचाएको दाबी गरे।

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको टिप्पणी गरे । उनले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए ।

सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा ‘नम्बर वान म्यान’ भएर काम गर्ने चाहना रहेको बताएका हुन् ।

उनले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए ।

‘मलाई साथ दिए, मौका पाएँ भने, तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु । नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु’ उनले भने ।

गलत काम अरू दलले गर्ने तर त्यसको मारचाहिँ कांग्रेसले खेप्नुपरेको दाबी उनले गरे। मुलुकमा संकट पर्दा जहिले पनि कांग्रेसले अवसर पाउँदा पार लगाएको दाबी पनि उनले गरे। उनले कांग्रेस समृद्धिको योजना बोकेको पार्टी भएको दाबी पनि गरे।

प्रतिक्रिया दिनुहोस