Latest News

जापान पुगेर प्रचण्डले झुटो गफ लगाएपछि…

Nepalese Times August 6, 2022 (1 Year ago)    391 Views

काठमाडौँ —

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुगेका छन्। नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापान गएका हुन्। सचिवालयका ३ सदस्यसहित प्रचण्ड शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानमा जापानतर्फ लागेका थिए।

केहीबेर अघिमात्र जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। अध्यक्ष प्रचण्डलाई विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेको उनको सचिवालयले जानकारी दिएको छ।

भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल, गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्। दाहालले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन् ।

सञ्चारकर्मीसँगकै कुराकानीमा उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने इच्छा पूरा नभएको बताए । गत जुलाई ८ मा चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेर आबेको हत्या गरेका थिए । आबे माग र मूल्य बढाएर घरेलु अर्थतन्त्रलाई प्रबर्द्धन गर्ने अर्थनीतिमा सफल भएका थिए । त्यस्तै दोस्रो विश्वयुद्धपछि जापानले गुमाएको सैन्य विरासत फिर्ता गराउन रणनीतिक गठबन्धन र परमाणु हतियारको पक्षमा वकालत गर्दै उनले आक्रामक राष्ट्रवादी नेताको छवि बनाएका थिए ।

दाहालले आबेसँग आफ्नो सम्बन्ध राम्रो भएको पनि दाबी गरे । त्यस्तै पूर्वप्रधानमन्त्रीका रूपमा सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २/३ पटक कुराकानी भएको पनि उनले दाबी गरे। दाहालले आबेलाई भेट्ने इच्छा पूरा नभएको उल्लेख गर्दै भने, ‘म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ । जापानका राजदूतसँग पनि कुरा भएको थियो । उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २/३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एक अर्काप्रति राम्रो इन्टर्‍याक्सन भएको थियो । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई एउटा अर्को हाइटमा कसरी लैजाने भन्ने कुरा गर्ने इच्छा थियो । त्योचाहिँ पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानको लागि त यो विरलै हुने घटना हो । यसको विश्वव्यापी पनि इम्प्याक्ट परेको छ । म उहाँप्रति विशेष सम्मान पनि भन्न चाहन्छु । शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना छ ।’

उनको दाबी भने गलत रहेको छ । दुई पटक जापानका प्रधानमन्त्री भएका आबे नेपाल भ्रमणमा भने आएका छैनन् । नेपालस्थित जापानी दूतावासका अनुसार अहिलेसम्म जापानबाट एक पटक बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् । सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए ।

आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमा नआएको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले पुष्टि गरे । आबे २६ सेप्टेम्बर २००६- २६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२- १६ सेप्टेम्बर २०२० गरी दुई कार्यकाल प्रधानमन्त्री भएका थिए । पूर्वपरराष्ट्र सचिव भट्टराईका अनुसार आबेका हजुरबुवा नोबुसुके किसी भने पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा आएका थिए । उनी सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री भएका थिए । सन् १९८७ मा उनको निधन भएको थियो ।

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबाट उच्चस्तरीय भ्रमण हुने गरेका छन् । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापान भ्रमण गरेका थिए ।

त्यतिबेला जापानमा केइजो ओबुची प्रधानमन्त्री थिए । त्यसको दुई वर्षपछि जापानी प्रधानमन्त्री मोरी नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमण नै जापानी प्रधानमन्त्रीको पहिलो औपचारिक नेपाल भ्रमण थियो । त्यसपछि जापानका विदेशमन्त्रीहरू कोइचिरो गेम्बा र तारो कोनो नेपाल भ्रमणमा आएका थिए ।

नेपालका तर्फबाट भने तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन् २०१८ मा ५ दिने औपचारिक भ्रमणमा जापान गएका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी सम्राट नारुहितोको गद्दी आरोहणका क्रममा सन् २०१९ मा जापान भ्रमणमा गएकी थिइन् । त्यतिबेला उनलाई तत्कालीन प्रधानमन्त्री आबेले समेत भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस