Latest News

गठबन्धनमा सिट बाँडफाँड हुँदा कुन दललाई कति सिट ?

Nepalese Times August 6, 2022 (1 Year ago)    354 Views

काठमाडौं –

सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्ने पक्षमा काँग्रेस देखिन्छ।

त्यसअनुसार ७६ निर्वाचन क्षेत्रमा काँग्रेसले सबैभन्दा बढी मत पाएको छ। ती निर्वाचन क्षेत्र काँग्रेसले आगामी निर्वाचनमा नछाड्ने पक्षमा रहेको जानकारी दिँदै एक नेताले एमालेले सबैभन्दा धेरै मत पाएको प्रतिनिधिसभाको ७१ निर्वाचन क्षेत्रका विषयमा कार्यदलले बढी काम गर्ने दाबी गरे ।

त्यसरी अघि बढ्दा प्रत्यक्षतर्फ माओवादी केन्द्र करिब ४०, नेकपा एस र जसपाले १०-१५ क्षेत्र प्रत्यक्षतर्फ पाउने नेताहरूको बुझाइ छ।

तर, माओवादी केन्द्र काँग्रेसलाई प्रतिनिधिसभामा बहुमत ल्याउनबाट रोक्दै वामपन्थी दलहरूमध्येको सबैभन्दा ठुलो दलका रूपमा आगामी निर्वाचनबाट स्थापित हुने रणनीतिमा छ।

त्यसका लागि काँग्रेसलाई ८५ देखि ९० निर्वाचन क्षेत्रमा समेट्ने रणनीतिमा माओवादी देखिएको छ। त्यसका लागि सत्ता गठबन्धनबाहिरका विभिन्न वामपन्थी समूहलाई समेटेर छुट्टै मोर्चा बनाउने गृहकार्यमा माओवादी जुटेको छ।

सत्ता गठबन्धनकै एक घटक माधवकुमार नेपाल गठबन्धनभित्र पनि निर्वाचनमा अर्को मोर्चा बन्ने बताउँदै आएका छन्। कांग्रेसमाथि सिट बाँडफाँटमा थप दबाब पार्ने रणनीति त्यसमा देखिन्छ।

कांग्रेस सिट बाँडफाँटमा लचिलो नदेखिएको अवस्थामा आफूहरू कमजोर रहेका क्षेत्रमा साथ लिने र एमालेबाहेक वामपन्थी मोर्चा बलियो हुने अवस्थामा प्रतिस्पर्धामा उत्रिने उनीहरूको रणनीति देखिन्छ। १ सय बढी क्षेत्रमा कांग्रेस एक्लैले जित्ने अवस्था रहेको र अर्को पार्टीबाट उम्मेदवार बनाउँदा एमालेलाई हराउन नसकिने नेता रामचन्द्र पौडेलको बुझाइ छ।

पाँच दलीय कार्यदल धरातलीय यथार्थका आधारमा निर्णयमा पुग्ने धारणा राख्दै पौडेलले भने, ‘यथार्थ नहेरी दाबी गर्नुको कुनै अर्थ छैन। जहाँ जसले जित्न सक्छ, त्यहाँ उसैले उम्मेदवारी दिनुपर्छ। सिट धेरै लिने, चुनाव थोरै जित्ने हुनुभएन।’

प्रतिक्रिया दिनुहोस