Latest News

भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेल्कोट, कति रेक्टर स्केलको ?

Nepalese Times August 6, 2022 (1 Year ago)    378 Views

काठमाडौं ।

नुवाकोटको बेल्कोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका अनुसार नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पका कारण एकाबिहानै काठमाडौंसहित आसपासका जिल्लाहरुमा खैलाबैला मच्चिएको थियो । काठमाडौंसहित धादिङ, मकवानपुर, नुवाकोट, रसुवालगायत देशका धेरैजस्तो ठाउँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

यसअघि खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको थियो । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर आइतवार गएको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति पुगेको छ ।

एउटा घर पूर्णरूपमा भत्किएको छ भने अरु चर्किएका जिल्ला विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको हो ।

साउन १५ गते बिहान ६ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा रहेकाे सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईका अनुसार आजसम्मको विवरणमा साकेलामा ४ सय ६४ घरमा क्षति पुगेको छ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछिको यो अर्को ठूलो भूकम्प हो ।

भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार सामान्यतया भूकम्प भनेको पृथ्वी हल्लिनु हो। पृथ्वी जुनसुकै कारणले हल्लिएको भए पनि त्यो भूकम्प हो।

भूकम्प चार किसिमले जान्छ। पहिलोमा टेक्टोनिक प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी विष्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो भनेको आणविक परिक्षणका कारण जान्छ।

पृथ्वीमा सात वटा मूख्य प्लेटहरु हुन्छन्। ती सात वटै प्लेटहरुसँगै हिडिरहेका हुन्छन्। जब ति प्लेटहरु एकआपसमा ठोक्किन्छन् अनि पृथ्वीमा भूकम्प जान्छ। दुई वटा प्लेटहरु जुन ठाउँमा ठोक्किन पुग्छन्, त्यो ठाउँमा सबैभन्दा ठूलो भूकम्प जाने गर्छ। यो तीन किसिमले हुन्छ, कोइरालाले भने।

कोइरालेले भने ‘पृथ्वीको सतह भन्दा ३० किलो मिटर माथिबाट आउने स्यालो, ३० देखि ७० किलो मिटरसम्मको मिडियम र ३० देखि ३ सय किलो मिटरसम्मको डिप हो। पृथ्वीमा भूकम्प जाँदा बढि क्षति गर्ने भनेको यही ३० किलोमिटरको स्यालो भूकम्प हो।’

उनका अनुसार भूकम्प जति माथिबाट गयो त्यसले झन धेरै असर गर्छ। २०७२ वैशाख १२ गतेको भूकम्प यही स्यालो भूकम्प हो। भूकम्प जहिले पनि दुई वटा वेभ मार्फत जान्छ। पहिलो बडि वेभ र दोस्रो सर्फिस वेभ हो।

बढि वेभमा प्राइमरी र सेकेन्डरी र सर्फिस वेभमा रेली र लव भन्ने फरक फरक प्रकारका वेभहरु हुन्छन्। विभिन्न सिद्धान्तका अनुसार भूकम्प होरिजोन्टल र भर्टिकल वेभबाट जान्छ। तर कहिलेकाहीं यी दुवै वेभबाट जाने गर्छ। यसरी गयो भने यसले पृथ्वीमा ठूलो असर पुर्याउँछ।

प्रतिक्रिया दिनुहोस