Latest News

राजीनामा दिँदै नारायणकाजी श्रेष्ठ, गरे यस्तो तयारी

Nepalese Times August 5, 2022 (1 Year ago)    416 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उठ्ने तयारी गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट श्रेष्ठ चुनाव लड्ने तयारी गरेका हुन् । श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेको भन्दै उनी निकट नेता कार्यकर्ताले शुभकामना समेत दिन थालेका छन् ।

पार्टीले टिकट दिएमा नारायणकाजी चुनाव लड्ने उनको सचिवालयका एक सदस्यले बताए । ‘उहाँ (स्थानीय चुनावमा) निक्कै खट्नु भयो । कुल ११ स्थानीय तहमध्ये ९ पालिका जिताउन लागि पर्नुभयो’ सचिवालय सदस्यले भने, ‘जिल्लाका नेता कार्यकर्तालाई भेटि राख्नुभएको छ । जिल्लामा नियमित गई राख्नुभएको छ । सबै परिस्थितिले उहाँ चुनाव लड्ने तयारी गर्नुभएको छ ।’

गोरखाका दुई क्षेत्रमध्ये श्रेष्ठ क्षेत्र नम्बर २ को प्रतिनिधित्व गर्छन् । ती दुई क्षेत्रमध्ये एक माओवादी प्रभाव क्षेत्र भएकाले काँग्रेसले पाउने सम्भावना छैन, त्यसो हुँदा क्षेत्र नम्बर २ काँग्रेसले दाबी गर्ने देखिएको छ ।

त्यसो हुँदा गठबन्धनबाट श्रेष्ठलाई सजिलै टिकट पाउने सम्भावना कम छ । त्यसैले माओवादी कतिपय नेताहरुले क्षेत्र नम्बर १ मै आउन सुझाव दिने गरेका छन् ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतले पराजित भएका थिए ।

श्रेष्ठ एमाले माओवादी गठबन्धनबाट उम्मेदवार हुँदा २४ हजार ९३३ मत ल्याएका थिए भने भट्टराईले ३१ हजार ८०७ मत ल्याएर विजयी भएका हुन । भट्टराई पाँच दलीय गठबन्धनबाट छुटिएपछि श्रेष्ठलाई टिकट ल्याउन सजिलो हुने भएको छ । यदि भट्टराई चुनावमा उठेमा श्रेष्ठसँगै प्रतिस्पर्धा हुने भएको छ ।

२०७० सालको चुनावमा श्रेष्ठ मकवानपुरबाट पराजित भएका थिए । पहिलो संविधान सभा निर्वाचनमा भने समानुपातिक सांसद भएका थिए ।

प्रतिक्रिया दिनुहोस