Latest News

यी हुन् भाग्यमानी बाबु-छोरा, एकैदिन लगाए डीएसपीको फुली

Nepalese Times August 4, 2022 (1 Year ago)    561 Views

काठमाडौं ।

२४ वर्षको अन्तरमा भर्ना भएर पनि एकै दिन बढुवा भएका बाबुछोराले बिहीबार प्रहरी नायव उपरीक्षक (डीएसपी) को फुली लगाएका छन्।

गत साउन २ गते ३७ जना इन्स्पेक्टरहरू डीएसपीमा बढुवा सिफारिस हुँदा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा पनि त्यही सूचीमा थिए।

३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाका राजेन्द्र अधिकारी र उनका कान्छा छोरा ध्रुव डीएसपी बढुवा सूचीमा परेका थिए।

सिफारिस भएकामध्ये ३४ जना जनपदतर्फ र ३ जना प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप समूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फका हुन्।

बढुवा सिफारिस सूचीको ३१ औँ नम्बरमा राजेन्द्र अधिकारी थिए। हाल उनी जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत छन्।

यता प्राविधिक समूहतर्फ पहिलो नम्बरमा ध्रुव अधिकारी सिफारिस भएका थिए। २४ वर्षको अन्तरमा प्रहरी सेवामा प्रवेश गरेका राजेन्द्र र कान्छा छोरा ध्रुवले बिहीबार एकैसाथ डीएसपीको फुली लगाए।

राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए। ध्रुव २०७५ मा प्रहरी निरीक्षकमा भर्ना भए। २४ वर्षको अन्तरमा प्रहरी सेवामा प्रवेश गरेका बाबुछोरा एकसाथ डीएसपी हुने संयोग मिल्यो।

असईमा भर्ना भएका राजेन्द्र २०५७ सालमा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भए। छोरो भर्ना भएको पदमा पुग्नै उनलाई अर्को १० वर्ष लाग्यो।

२०६७ सालमा राजेन्द्र इन्सपेक्टर भएका हुन्। प्रहरी सेवामा प्रवेश गरेको १६ वर्षपछि राजेन्द्र इन्सपेक्टर भए। राजेन्द्र इन्सपेक्टर हुँदा पनि ध्रुव प्रहरीमा प्रवेश गरेकै थिएनन्। त्यसको ८ वर्षपछि मात्रै उनी प्रहरी सेवामा प्रवेश गरे।

तर प्रहरीका प्राविधिक समूहमा छिटो बढुवा हुन्छ। जनपदमा जस्तो १० वर्षसम्म पनि एउटै दर्जामा रहनु पर्ने बाध्यता छैन। त्यही भएर ध्रुव छिटो बढुवा भए। सेवामा प्रवेश गरेको ४ वर्षमै बढुवा हुँदा बाबुछोरा एउटै दर्जामा एकै दिन पुगेर बिहीबार एकै दिन फुली लगाएका हुन्।

प्रतिक्रिया दिनुहोस