Latest News

अमेरिकाको कक्षा ७ को पाठ्यक्रममा नेपालकी विष्णुमाया परियारको जीवनी, बधाईको ओहिरो

Nepalese Times August 4, 2022 (1 Year ago)    416 Views

काठमाडौं ।

अमेरिकाको मासाचुसेट्स राज्यको सरकारी विद्यालयहरूको कक्षा ७ को पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवनी समावेश गरिएको छ।

विश्वको इतिहास र भूगोल विषयको ‘छुवाछूत र दिगो विकास लक्ष्य १०’ शीर्षकको १२ नम्बरको पाठमा अमेरिका निवासी डा. परियारबारे तयार पारिएको वृत्तचित्र ‘अनटचेबल’ समेत समावेश गरिएको हो ।

उक्त पाठमा नेपालमा व्याप्त जातीय विभेद र असमानताका विषय समेटिएको छ। उक्त वृत्तचित्र नेपालमा जातीय विभेद र यसले सिर्जना गरेको असमानतालाई सम्बोधन गर्न अभियन्ता डा. विष्णुमाया परियारको संलग्नताका विषयमा समावेश छ।

यस पाठमार्फत विद्यार्थीले कानून र शिक्षाजस्ता विधिहरूमार्फत असमानतालाई सम्बोधन गर्ने अन्य तरिकाहरू पनि अन्वेषण गर्ने र स्थानीय र विश्वव्यापी रूपमा असमानतालाई सम्बोधन गर्न आफूले खेल्न सक्ने भूमिकालाई विद्यार्थीले विचार गर्ने विश्वास गरिएको छ।

नेपालमा जातीय व्यवस्था अन्त्य गर्न विष्णुमाया परियारको कार्यका उदाहरणहरू पेस गरी सामाजिक उद्यमशीलतामार्फत दक्षिण एसियामा असमानतालाई कसरी सम्बोधन गरिएको छ भनी व्याख्या गर्नु उक्त पाठको उद्देश्य रहेको छ। नेपालमा जात र असमानता : विष्णुमाया परियारको सक्रियता शीर्षकको भिडियो करिब २० मिनेटको छ।

नेपालमा दलित (अछुत) जातिमा जन्मिएकी अधिकारकर्मी विष्णुमाया परियारको कामका बारेमा एउटा सानो वृत्तचित्र हेर्न जाँदैछौं भनेर विद्यार्थीलाई भनिन्छ। अर्को स्लाइडमा विद्यार्थीलाई दक्षिणपूर्वी एसियाको नक्सामा नेपाल पत्ता लगाउन लगाइनेछ।

बसाइँसराइको नतिजा स्वरूप नेपालमा २००० ईसा पूर्वमा हिन्दू धर्म आएको विद्यार्थीलाई वर्णन गरिनेछ। आज, ८१ प्रतिशतभन्दा बढी नेपाली हिन्दू भनेर चिनिने र शिव भगवान् हिन्दूको संरक्षक देवता हुन् भनेर पनि विद्यार्थीलाई जानकारी दिइनेछ। त्यसपछि, भिडियोमा डा. विष्णुमाया परियारको तस्वीर देखाइनेछ र विद्यार्थीको ध्यान यसप्रति आकर्षित गरिनेछ।

नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार र उहाँको जीवनी समेटिएको अमेरिकाको कक्षा ७ को पाठ्यक्रमको अंश यस्तो छ ।

त्यसपछिका करिब १२ मिनेट अवधिमा विद्यार्थीबीच छलफल चलाइनेछ। छलफल नेपालमा जातीय व्यवस्थाले निम्त्याएको असमानता, यसले सिर्जना गर्ने समस्या र समाधानका उपायहरूमा केन्द्रित रहनेछ।

शिक्षा र सामाजिक अन्तरक्रियाका सम्बन्धमा नेपालमा दलितहरूमाथि हुने भेदभावपूर्ण व्यवहार, विष्णुमाया परियारको संस्था एडवान र यसले लघु ऋण उपलब्ध गराएर जातीय व्यवस्थाले सिर्जना गरेको समस्यालाई सम्बोधन गर्न पुर्‍याएको योगदानलगायत विषयमा पनि विद्यार्थीले छलफल गर्नेछन्।

अर्को २० मिनेटको समयमा सामाजिक उद्यमशीलता : असमानताको समाधान शीर्षकमा विद्यार्थीलाई विष्णुमाया परियार सामाजिक उद्यमी भनेर चिनिन्छिन् भन्ने विषयमा व्याख्या गर्न लगाइन्छ। त्यसैगरी पाठको अन्तिम १० मिनेटमा असमानतालाई सम्बोधन गर्न सामाजिक उद्यमशीलता वा कानून वा वृत्तचित्र निर्माण जस्ता अन्य विधिहरूको प्रयोग गर्दा के फाइदा–बेफाइदा छन् भन्ने तपाईंलाई लाग्छ भन्ने जिज्ञासासहित पाठ टुंग्याइन्छ।

डा. परियारको जीवनी यसअघि विश्वव्यापी कलेज पाठ्यपुस्तकमा समेत प्रकाशित भइसकेको छ। विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा डा. परियारको जीवन संघर्ष प्रकाशित छ।

अमेरिकाको न्यूजर्सी राज्यका गभर्नर फिल मर्फीले हालै सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन गर्नुभएको छ ।

परियारसहित २८ जनालाई गभर्नर फिलले मनोनयन गरेकामा मनोनीत हुने डा. परियार एक मात्र नेपाली हुनुहुन्छ । विष्णुमाया न्यूजर्सी राज्यको हड्सन काउन्टीस्तरीय यौनहिंसाविरुद्धको सहायत संस्था ‘हड्सन स्पिक’ की वरिष्ठ निर्देशक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस