Latest News

सरकारले गर्‍यो सचिवहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

Nepalese Times August 4, 2022 (1 Year ago)    304 Views

काठमाडौं ।

सरकारले सचिवहरुको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु सरुवा गरेको हो । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् । एक मन्त्रीका अनुसार मरासिनीले आफूलाई सरुवा गराइदिन आग्रह गरेका थिए । सोही आग्रहबमोजिम उनको सरुवा भएको हो ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

यसका साथै राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै आजै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् ।

त्यस्तै,सरकारले मंसिर ४ गते आइतबार एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले भने मंसिर २ गते निर्वाचन गर्नका लागि सिफारिस गरेको थियो । बुधबार सत्तारुढ गठबन्धनका दलहरुबीच भएको छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको थियो । साेही सहमितका आधारमा बिहीबार मन्त्रिपरिषदको निर्णय गरेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सांसदका लागि निर्वाचन हुनेछ । त्यसैगरी प्रदेशतर्फ ७ प्रदेशका प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० सांसदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस