Latest News

चुनावको मिति घोषणासहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

Nepalese Times August 4, 2022 (1 Year ago)    376 Views

काठमाडौं –

सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए । जनार्दन शर्मा मन्त्री भएर आएपछि मारसिनी मन्त्रालयमा आउन मानेका थिएनन् ।

अर्थसचिवले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘तत्काललाई सचिव पुष्करलाई नै अर्थ सचिवका रहेर काम गर्ने गरी तोक्ने निर्णय भएको छ, ती मन्त्रीले भने ।

त्यस्तै बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै,सरकारले मंसिर ४ गते आइतबार एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले भने मंसिर २ गते निर्वाचन गर्नका लागि सिफारिस गरेको थियो । बुधबार सत्तारुढ गठबन्धनका दलहरुबीच भएको छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको थियो । साेही सहमितका आधारमा बिहीबार मन्त्रिपरिषदको निर्णय गरेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सांसदका लागि निर्वाचन हुनेछ । त्यसैगरी प्रदेशतर्फ ७ प्रदेशका प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० सांसदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो।

 

प्रतिक्रिया दिनुहोस