Latest News

सागर ढकाललाई प्रश्नः ‘देउवाले डडेलधुरा छाडेर अर्कै चुनावी क्षेत्र रोजेमा तपाई के गर्नुहुन्छ ?’ (विशेष अन्तर्वार्ता)

Nepalese Times August 4, 2022 (1 Year ago)    592 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकाल अहिले चर्चाको केन्द्रमा छन् । उनले एक हप्ताको चुनावी भेटघाटसमेत गरिसकेका छन् ।

सागर ढकालले डडेलधुरामा चुनावी भेटघाट गर्दै गर्दा काठमाडौंमा भने प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरा छाडेर अर्कै चुनावी क्षेत्र रोज्न खोजेका समाचारहरु बाहिरिए ।

यदि देउवाले डडेलधुरा छाडेर अर्कै चुनावी क्षेत्र रोजेमा सागरले डडेलधुराबाटै चुनाव लड्छन् या देउवाले जहाँबाट चुनाव लड्ने हो त्यहिँबाट उम्मेदवारी देलान् ? भन्ने आम कौतुहल रहेको छ । यसै विषयमा नेप्लिज टाइम्सका लागि टेकमान शाक्यले कुराकानी गरेका छन् ।

१) तपाई डडेलधुरा पुगेर फर्कनुभयो । त्यहाँका नागरिकहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?

– स्थानीय तहको चुनावलाई हेर्ने हो भने शिक्षित क्षेत्रमा मात्रै स्वतन्त्रहरुले जित्छन् भन्ने रह्यो । मान्छेहरु शिक्षित क्षेत्रमा मात्रै जागेका छन् भन्ने भ्रम छ । म काठमाडौंबाट डडेलधुरा जाँदा धेरैले मलाई सकिँदैन, त्यहाँका मानिसहरु शिक्षित छैनन् भनेका थिए । तर डडेलधुरा पुगेपछि त्यहाँका जनताहरु विवेकशील छन् भन्ने लाग्यो । शिक्षा र विवेक भन्नेकुरा धेरै फरकको कुरा हो । मान्छे शिक्षित हुन सक्छन् तर विवेकशिल हुन सक्दैनन् या शिक्षित नहुँदा पनि उनीहरु विवेकशिल हुन सक्छन् भन्ने मेरो मान्यता हो । त्यसैले डडेलधुराका जनताहरु मलाई धेरै विवेकीपूर्ण लाग्यो । उहाँहरुले पढ्न पाउनुभएन होला, तर देशभक्ति उहाँहरुबाट पाएँ । म त्यहाँ बस्दा  डडेलधुराका जनता जागेको पाएँ । यसको अर्थ देशैभरका जनताहरु जागिरहेका छन् ।

२) तपाईले शेरबहादुर देउवासँग नै चुनाव लड्ने उद्घोष गर्नुभयो । तपाईको उम्मेदवारी डडेलधुराका जनताको मुहार फेर्नका लागि हो कि शेरबहादुर देउवालाई हराउन ?

म डडेलधुराका जनताका लागि र समग्र नेपालका लागि उम्मेदवारी दिन लागेको हुँ । म मेयर र वडा अध्यक्ष पदमा उम्मेदवार बन्न लागेको होइन । म त प्रतिनिधिसभाको सांसद हुन जाने हो । नीति नियम बनाउन जाने हो । म त देश बनाउनका लागि आएको हुँ ।

डडेलधुरा नै किन रोज्नुभयो ?
हाम्रो देशले डडेलधुराबाट ५ पटक प्रधानमन्त्री पाएको छ । तर, विकास कस्तो भएको छ भन्ने कुरा त्यहाँ गएर हेर्दा देखिन्छ । एउटा उदाहरण के छ भने, मोदीले गुजरात मोडेल भारतभर कपी गर्नुपर्छ भन्न सक्छन्, केजरीवालले दिल्ली मोडल कपी गर्नुपर्छ भनेर ढुक्कसँग भन्न सक्छन्, सी जिनपिङले पनि आफ्ना मोडल कपी गर्न भन्न सक्छन् । तर, हाम्रो नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले के-के कपी गर् भन्न सक्नुहुन्छ ५ चोटी प्रधानमन्त्री हुँदा ?

त्यो कारणले पनि डडेलधुरालाई एउटा मोडलको रुपमा विकास गर्नुपर्छ भन्ने हाम्रो अवधारणा हो । प्रधानमन्त्रीको शक्ति हजुरवुवाबाट नाती पुस्तामा सर्नुपर्छ भन्ने राम्रो म्यासेज दिनका लागि पनि मैले डडेलधुरा रोजेको हुँ ।

तपाईकै भाषामा शेरबहादुर देउवालाई यो पटकबाट आरामा गराउनका लागि डडेलधुरा रोज्नुभएको ?

–एकदमै सही भन्नुभयो । शेरबहादुर देउवा मात्रै होइन सबै हज्रब्ुबा नेताहरुलाई यो पटक आराम गराउने हो ।

तर, यो पटक प्रधानमन्त्री देउवा डडेलधुराबाट नउठ्ने, अर्कै चुनावीक्षेत्रमा जाने भन्ने खालका समाचार पनि बाहिरिएका छन् । यदि देउवा डडेलधुराबाट चुनाव लड्नुभएन भने तपाई के गर्नुहुन्छ ?

–यसपाली हजुरबुवालाई आराम दिने नै हो, यसमा ढुक्क हुनुस् । यसमा दायाँबायाँ कुरै छैन । देउवाले अर्को निर्वाचन क्षेत्र रोज्नुभयो भने पनि म चाहीँ डडेलधुराबाट नै लड्छु । उहाँ कैलाली, कञ्चनपुरलगायत क्षेत्रबाट लड्नुभयो भने त्यहाँ अरु स्वतन्त्र उम्मेदवरहरुलाई सहयोग गर्छु । म कैलाली, कञ्चनपुरलगायत जहाँ देउवाले उम्मेदवारी दिन्छन्, त्यहाँ पुग्छु । तर, मेरो उम्मेदवारी चाहीँ डडेलधुराबाट नै रहन्छ ।

भनेको शेरबहादुर देउवाले डडेलधुरा छाडेर अर्को निर्वाचन क्षेत्र रोज्नुभयो भने अर्को व्यक्तिलाई त्यहाँ उम्मेदवारको रुपमा सहयोग गर्नुहुन्छ ?

–कञ्चनपुर ३ बाट उम्मेदवारी घोषणा भइसकेको छ । कैलालीबाट पनि उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । मैले उहाँहरुको क्याम्पियनलाई सहयोग गर्छु । व्यापक रुपमा जान्छु । नेपालभर शेरबहादुर देउवा जहाँ उठेपनि, अथवा हाम्रा हजुरबुवाहरु प्रचण्ड, माधव नेपाल केपी ओलीलगायत नेताहरु जहाँबाट उठ्नुहुन्छ, उहाँहरुलाई आराम गराउनका लागि हामी मिलेरै अघि बढ्छौँ ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत नेताहरुको विरुद्धमा पनि तपाईहरुको उम्मेदवारी रहनेछ ?

– हो । उनीहरुको विरुद्धमा हामी देशभरबाट जाग्दै छौँ । अहिले ‘नो नट अगेन’ भन्ने म्यासेज देशभर गइरहेको छ । सबै साथिहरुले हेरिसक्नुभएको छ होला । भन्न खोजेको अब पूर्व प्रधानमन्त्रीहरुलाई ढुक्क तरिकाले आराम दिने हो । उहाँहरुलाई गाली गर्ने होइन, अब आराम गर्नुस् भनेर ससम्मान भन्ने हो । हजुरबुबाहरु बस्नुस्, देशका लागि धेरै दुःख गर्नुभयो अब आराम गरेर बस्नुस् भन्ने हो । अब नाती पुस्ता तयारी अवस्थामा छन् भन्नका लागि नै हो ।

तपाई आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उम्याईरहनुभएको छ, नेपाल बनाउने भिजन के छ तपाईमा ?

– नेपाल बनाउने ठूलो भिजन मसँग छ । तपाईले हाम्रो डकुमेन्टहरु हेर्नुभयो भने विगत ६० वर्षमा के समस्या भयो र अबको २० देखि ३० वर्षमा हामीले कसरी विकास गर्न सक्छौँ भन्ने स्पष्ट आधारसहित हामी आएका छौँ । हामीहरुले दिएको आधार कुनै पनि वैकल्पिक भनिएका पार्टीहरुलेसमेत दिन सक्नुभएको छैन ।

अहिले देशैभर स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहड चलिरहेको समयमा तपाईले पनि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । तपाईले पनि त्यहि लहडलाई पछ्याउनुभएको हो कि पहिलेदेखिकै योजना थियो ?

शेरबहादुर देउवालाई बीबीसीमा प्रश्न सोध्नुभन्दा अगडि नै आफू प्रधानमन्त्री भएँ भने के गर्छु भनेर आफ्ना योजना सार्वजनिक गरिसकेको मान्छे हुँ । धेरैजनालाई भ्रम के छ भने सागर ढकाल बीबीसी साझा सवाल कार्यक्रमले चर्चामा आयो अनि राजनीतिमा होमियो भन्ने चर्चा भइरहेको छ । तर, मेरो त पहिलेदेखिकै योजना हो । मैले यो तयारी गरेको नै ६ वर्ष भइसक्यो । म लहडमा आएको व्यक्ति होइन ।

मेरो तयारी पहिलेदेखिकै हो भन्ने प्रमाण धेरै नै दिन सक्छु । मेरा नजिकका साथिभाई सर्कललाई थाहा छ कि यसअघि नै प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारी गरिएको हो भन्ने । बालेन र हर्क साम्पाङहरुले नजित्दै नै मैले प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने योजना बनाइसकेको थिएँ । ६ वर्षअघि म २४ वर्षको दिएँ । त्यतिखेर नै मैले म प्रधानमन्त्री भएँ भने के-के गर्छु ? भनेर योजना बनाएको थिएँ । त्यतिखेर अहिलेजस्तो देश बुझिसकेको थिएन हुँला । तर, इमान्दार व्यक्ति नेतृत्वमा जानुपर्छ भन्ने धारण त्यतिखेरबाटै हो ।

लामो समय राजनीतिक जीवन बिताएकाहरुले त काम गर्न नसकिरहेको समयमा तपाईले आफूले गएर काम गर्छु भन्नुभएको छ । कत्तिको सहज देख्नुभएको छ ?

मैले संसदमा गएर नचाहिने भाषण गर्ने होइन । विगतका केही वर्षदेखि जे काम गरिरहेको छु, त्यहि काम गर्ने हो । मेरा लागि नयाँ चिज नै होइन । मैले पानीको विषयमा काम गरेको छु, पानीको विषयमा नीति बनाउँछु । मैले सुडानमा गएर खानेपानी व्यवस्थापनका लागि काम गरेँ, अब नेपालमा काम गर्छु । मैले किर्गिस्तानमा फोहोर व्यवस्थापनका लागि एउटा नमुना मोडल बनाएँ । विश्व बैंकहरु सबैले कपी गरे । म नेपाललाई फोहोर व्यवस्थापनको एउटा नमुना देश बनाउँछु । मैले जे गरेँ त्यहि नै गर्ने हो, नयाँ चीज केही पनि गदिँनँ ।

७) ससदीय चुनाव स्थानीय चुनावजस्तो होइन । तपाई एकजनाले जित्नुभएर प्रधानमन्त्री बन्ने सपना कसरी पुरा हुन्छ ?

त्यहि भएर हामी देशभर समूह बनाएर जाँदै छौँ । म एक्लै जित्दा पनि धेरै का मगर्न सक्छु । तर, टिमले नै जित्दा त्यो भन्दा धेरै काम गर्न सकिन्छ ।

संसदमा प्रेम सुवाललगायत नेताहरुको हविगत त देख्नुभएको छ नि ?

प्रेम सुवालहरुको हविगत यस्तो हुनुमा अरुले जे गरेका थिए उहाँहरुले पनि त्यहि गर्न खोजेकोले यस्तो भएको हो । उहाँहरुले ढुंगामुढा गरेर राजनीतिमा आउनुभएको होला । मैले त ढुंगामुढा गरेर आएको होइन । म त चीन सरकारसँग काम गरेर आएको हुँ । त्यहाँको नीति बनाएर आएको हुँ । मैले विदेशमा गएर स्रोत व्यवस्थापनको नीति बनाएर आउन सक्छु भने नेपालमा किन सक्दिनँ ? नेपाल सरकारले मलाई एक्लै पनि विशेषज्ञ भनेर हायर गर्न सक्छ । मेयर बालेन साहले फोहोर व्यवस्थापनको काम गरौँ भन्दा मेयर बालेनकै एउटा नेतृत्व लिन सक्छु । तर, म यतिमा मात्रै सिमित भएर सुख छैन । कुनै एउटा ठाउँ होइन कि देश नै परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता हो । त्यसैले हामी अब एउटा टिम नै बनाएर अघि बढ्दै छौँ ।

भनेको समूहगत रुपमा अघि बढ्न कुनै एउटा राजनीतिक दलको आवश्यकता महसुस गर्नुभएको छ ?
यसबारे हामी छलफलमै छौँ । पहिलो विकल्पको रुपमा हामी देशभरबाट स्वतन्त्र रुपमा पनि जान सक्छौँ । सबै निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने सोचमा छौँ । संसदमा छिरिसकेपछि हामीले एउटा दल बनाउन पनि सक्छौँ । अर्को विकल्पको रुपमा भनेको देशभरका स्वतन्त्र उम्मेदवारहरुले एउटै चुनाव चिन्हमा लड्ने भन्ने पनि रहन्छ । अब के हुन्छ भन्ने मैले मात्रै भनेर हुँदैन । पहिले १६५ जना नै जम्मा हुनुपर्यो । सबैको सल्लाहअनुसार हामी अघि बढ्छौँ ।

राजनीतिक दल खोल्ने समभावना पनि छ ?

के सम्भावना रहन्छ भन्ने कुरा मैले अहिले नै ठ्याक्कै भन्न सक्दिनँ । संयुक्त रुपमा जाँदा सबैको राय बुझौँ । अरु साथिहरुले के भन्नुहुन्छ त्यसमा भर पर्छ ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका काठमाडौंका सुमन सायमीलगायतसँग पनि तपाईहको संवाद भइरहेको छ ?

–सुमन सायमीलगायत हामी सबै एउटै टिममा छौं । रवि लामिछाने पनि हाम्रै टिम हो । अन्तिममा गएर हामी सबै एउटै हुनुको विकल्प नै छैन । पूर्वप्रधानमन्त्री जन्माएको पार्टीबाहेक सबैसँग हाम्रो सहकार्य हुन सक्छ ।

एउटै पार्टीमा रहने सम्भावना पनि छ ?
अहिलेलाई हामी आ–आफ्नो ठाउँबाट स्वतन्त्र रुपमा आऔं । आ–आफ्नो विज्ञता प्रकट गरौँ । देशलाई के गर्न सकिन्छ भन्ने स्पष्ट होउँ । तपाईले भन्नुभएका विषयहरु अन्तिम अवस्थामा निर्णय गर्ने कुरा हो । रवि लामिछाने, सुमन सायमीलगायत सबैजनासँग हाम्रो राम्रो कुराकानी भइरहेको छ । हाम्रो उदेश्य एउटै छ । परीक्षण भइसकेर पनि काम गर्न नसकेकाहरुलाई फाल्नुपर्ने हामीहरुको समान उदेश्य हो ।

प्रतिक्रिया दिनुहोस