Latest News

धन कमाउन दक्षिण कोरिया पुगेका यी नेपालीले अकालमै ज्यान गुमाए

Nepalese Times August 3, 2022 (1 Year ago)    352 Views

काठमाडौं । दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलबार सवारी दुर्घटनामा परेर ज्यान गएको छ ।

कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए ।

मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया गएका थिए । गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको थियो ।

साँझ निस्किएका मगर बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घटनाका विषयमा जानकारी पाएको उनीहरुले बताए ।

घटनाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको र शव पोछनस्थित स्थानीय अस्पतालमा राखिएको गुरुङले बताए ।

कोरियामा ईलेक्ट्रिक स्कुटर चलाउनसमेत लाइसेन्स आवश्यक पर्ने भन्दै गुरुङले साइकलदेखि मोटरसाईकल चलाउँदा अति नै संवेदनशील हुन आग्रह गरेका छन् ।

यस्तै दक्षिण कोरियाले घट्दो जनसंख्या र कामदार अभावलाई पूर्ति गर्न दक्ष विदेशी नागरिकलाई पारिवारिक भिसा प्रदान गर्ने योजना ल्याउने भएको छ ।

कोरियामा वर्षेनि जनसंख्या घटिरहेको तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योगहरुमा कामदार अभाव भएको भन्दै दक्ष विदेशी नागरिकलाई उक्त भिसा प्रदान गरिने यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।

यहाँको न्याय मन्त्रालयले स्थानीय क्षेत्र विषेशलाई लक्षित गरेर कोरियामा स्थायी बसोवास गर्न पाउनेगरी अक्टोवरदेखि एफ-२ भिसा प्रदान गर्न लागेको हो ।

त्यसकालागि यहाँका ग्रामिण क्षेत्रका उद्योगहरुमा श्रमसम्झौता गरी काम गर्नुपर्ने बताइएको छ । उक्त भिसा प्राप्तगर्ने विदेशीले स्थानिय तह अर्थात यहाँका ग्रामिण क्षेत्रका उद्योगमा कम्तिमा ५ वर्ष काम गर्नुपर्ने सर्तमा सहमत हुनुपर्ने उल्लेख छ।

उक्त भिसा प्राप्त गर्नका लागि कोरियाली भाषामा प्रविणता तहसम्मको दक्षता हाँसिल गरेको र औपचारिक शैक्षिक योग्ता स्नातक उत्तीर्ण हुनुपर्ने तोकिएको छ ।

यसरी भिसा प्राप्त गर्ने विदेशीले आफ्ना परिवारका सदस्यलाई सँगै ल्याउन पाउने तर पछि भिसा परिमार्जन गर्दै लैजान सक्ने वा नसक्ने भन्ने विषयमा अहिले परिक्षणकाल भएकाले उल्लेख गरिएको छैन । उक्त योजनामा सहभागी हुन चाहने विदेशीले सरकारले तोकेका ८९ पालिकामार्फत आवेदन दिन सक्ने छन्।

मन्त्रालयले आवेदन हेरेर ग्रामीण स्तरका ५ क्षेत्रलाई लक्षित गरेर पहिलो चरणमा ५ सय जना विदेशीलाई उक्त भिसा प्रदान गर्ने बताईएको छ । उक्त योजना १ वर्षसम्म परिक्षण्को रुपमा सञ्चालन गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस