Latest News

प्रधानमन्त्री देउवाले डडेलधुराबाट चुनाव नलड्ने तयारी गरेपछि सागर ढकालले दिए यस्तो प्रतिक्रिया !

Nepalese Times August 3, 2022 (1 Year ago)    707 Views

काठमाडौं ।

अबको केही दिनमै संसदीय चुनावको मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेका छन् । यो पटक संसदीय दलको चुनावको मिति घोषणा नहुँदै उम्मेदवारी घोषणाको क्रम सुरु भईसकेको छ ।

सबैको चासोको रुपमा हेरिएको प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा को–कोले उम्मेदवारी देलान् ? भन्ने कौतुहल बढिरहेको समयमा एउटा खबर बाहिरिएको छ ।

आफ्नो राजनीतिक जीवनमा कुनै पनि संसदीय निर्वाचन नहारेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो पटक डडेलधुराबाट चुनाव नलड्ने मनस्थिति बनाएका स्रोतले जनाएको छ ।

निकटस्थहरुले देउवालाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाएका छन् । प्रतिनिधिसभा निर्वाचन २०४८, २०५१, २०५६ र २०७४ तथा संविधानसभा निर्वाचन २०६४ र २०७० मा देउवा डडेल्धुराबाटै निर्वाचित भएका थिए । २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली ६ सहित डडेल्धुराबाट समेत देउवा निर्वाचित भएका थिए ।

यसपटक डडेल्धुराको राजनीतिक वातावरण र देउवाको मनस्थिति दुवै बदलिएको र निकटस्थसँगै ‘इन्टेलिजेन्स’ ले पनि डडेल्धुराबाट चुनाव नलड्न सुझाव दिएको बताइन्छ ।

जिल्लाभरको परिणाममा सत्तारुढ गठबन्धनको पकड देखिए पनि डडेल्धुराभन्दा बलियो क्षेत्र खोज्न देउवालाई निकटस्थहरुले सुझाव दिएका छन् ।

प्रारम्भमा डडेल्धुरा छाड्नेबारे सुन्नै नचाहेका प्रधानमन्त्री देउवाले अहिले भने उपयुक्त विकल्पबारे चासो राख्न थालेका उनी निकट एकजना कांग्रेस नेताले बताए ।

‘राजनीतिक सन्देश गलत नजाने गरी के उपाय होला भनेर प्रधानमन्त्रीले पनि चासो राखेका र सुदूरपश्चिमकै केही क्षेत्रबारे कुरा भएको देउवा निकट स्रोतको दाबी छ ।

प्रधानमन्त्री देउवाले कञ्चनपुर ३ को सम्भावनाबारे पनि छलफल गरेका छन् । गत संसदीय निर्वाचनमा सुदूरपश्चिममा डडेल्धुरामात्रै कांग्रेसले प्रत्यक्षमा जितेको थियो ।

त्यसबाहेक सबैभन्दा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्र कञ्चनपुर ३ हो । जहाँ कांग्रेसका रमेश लेखक एमालेका दीपकप्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए । वाम गठबन्धनका भट्टले २६ हजार ३६४ मत ल्याउँदा कांग्रेसका लेखकले २६ हजार १०६ मत पाएका थिए ।

डडेल्धुरामा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ल, यसअघि बीबीसीको साझा सवालमा देउवाले थर्काएपछि चर्चामा रहेका सागर ढकाललगायतले उम्मेदवारी दिने तयारी गरेका छन् ।

मल्लले देउवाविरुद्ध आफ्नो उम्मेदवारी पर्ने भनेका छन् भने सागर ढकालले आफू डडेलधुराबाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् । तर, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी क्षेत्र परिवर्तन गर्ने तयारी गरिरहँदा उम्मेदवारी घोषणा गरेका सागर ढकालले के गर्लान् ? भन्ने आम चासो रहेको छ ।

नेप्लिज टाइम्ससँग कुरा गर्दै उनले देउवाले डडेलधुरा निर्वाचन क्षेत्र छाडेपनि आफूले भने यो निर्वाचन क्षेत्र नछाड्ने बताएका छन् । देउवाले जुन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो आफूहरुले त्यहाँ अर्को उम्मेदवार खडा गर्ने भन्दै उनले आफू अब डडेलधुराबाट पछि नहट्ने बताए ।

यस्तै उनले देउवामात्रै नभई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेता झलनाथ खनाललगायतको विरुद्धमा पनि आफूहरुको उम्मेदवारी रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस