Latest News

सप्तकोसीको बाँध फुटेपछि बराह क्षेत्रका ५ सय परिवार श्रीलङ्का टापुमा

Nepalese Times August 3, 2022 (1 Year ago)    390 Views

उदयपुर –

उदयपुरको बेलका नगरपालिका ८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराह क्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराह क्षेत्र ६ र ९ का पाँच सय घरपरिवारका झन्डै दुई हजार पाँच सय जना फसेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनीहरू श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरू आउन नमानेकाे र फसेकाहरू सुरक्षित रहेकाे बताएको सुनसरीका प्रजिअ यादवले बताए ।

यसैबीच कटान गरिएको क्षेत्रमा १ नम्बर प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्कीसहितले निरीक्षण गरेका छन् । मन्त्री कार्कीसहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारीलगायतको विषयमा निरीक्षण तथा अनुगमन गरेको प्रजिअ यादवले बताउनुभयो । अहिले केहीबेरमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उनले बताए ।

बैठक पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरणलगायतका विषयमा केन्द्रित हुने उनले बताए । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोंचमा मानिसलाई प्रवेश गर्न रोकिएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मानवीय क्षति रोक्न र उद्धारको काम प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरेको बताए ।

नदी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार भन्दा धेरै घरपरिवार प्रभावित बनेका छन् । बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो ।

अहिले पनि प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको छ । सप्तरी र सुनसरीमा समेत जोखिम पूर्वानुमान गरेर थप सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस