Latest News

कोशीले कटान थालेपछि आफ्नो सामान बोकेर स्थानीयहरु यसरी दौडिन थाले !

Nepalese Times August 3, 2022 (1 Year ago)    379 Views

काठमाडौं ।

सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन ।

गएराती देखी परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भु–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन् ।

पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले पानीको बहाव भईरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराएइको छ ।

यस्तै पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन् । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसँग छलफल गरिएको हो ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिएका छन्। गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिए । कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।

विपदमा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस