Latest News

भारतबाट पेट्रोलको मूल्य घटेर आएसँगै आयल निगमले गर्यो यस्तो निर्णय, अब लिटरको कति ?

Nepalese Times August 3, 2022 (1 Year ago)    635 Views

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो ।

भारतबाट भाउ घटेर आएपनि तत्काल मूल्य समायोजन नगर्ने निर्णय भएको छ,’ निगम स्रोतले भन्यो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ ।

तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ ।

भारतीय आयल कर्पोरेसनबाट पछिल्लो दुई पटक मूल्यसूची घटेर आएको छ । यसमध्ये यही अगस्ट १ तारिखमा समेत पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । उक्त मितिमा पेट्रोलमा प्रतिलिटर १६.८० रुपैयाँ र डिजेलमा १२.४५ रुपैयाँ घटेर आएको थियो ।

अघिल्लो पटक १५ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ घटेर आएको थियो ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर मूल्य घट्न थालेसँगै पेट्रोलियम पदार्थको मूल्य समेत घट्न थालेको हो । तर, निगमले मूल्य समायोजन गरेको छैन । विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले अहिलेसम्म दुई पटक मूल्य घटाएर पठाएको छ।

१५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो। त्यो समयमा भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन।

अहिले मूल्य घटेर आउँदा पनि १५ दिनमा ७५ करोड रूपैयाँ घाटा भएको निगमले जनाएको छ। एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने निगमको भनाइ छ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्छ। सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

प्रतिक्रिया दिनुहोस