Latest News

एमाले अध्यक्ष ओलीले फेरि गरे एकताको प्रस्ताव

Nepalese Times August 2, 2022 (2 Year ago)    348 Views

काठमाडौं-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा मालेका महासचिव सीपी मैनालीलाई एकता प्रस्ताव गरेका छन्।

मंगलबार तुलसीलाल अमात्यको २५औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीभन्दा अगाडि बोलेका मैनालीले ‘प्रतिपक्षीहरुको गठबन्धन बनाऔं र सत्ता पक्षको दुष्ट उद्देश्यको विषयमा प्रतिवाद गरौं’ भन्ने प्रस्ताव राखेका थिए। ओलीले गठबन्धनभन्दा एकता नै गर्न आह्वान गरेका हुन्।

ओलीले सत्ता गठबन्धनमा रहेका पार्टीहरुले दुष्ट आशय बोकेको भन्दै त्यसभन्दा बाहेकका पार्टीहरुले चाहिँ त्यस्तो आशय नबोकेको बताएका थिए।

‘दुष्ट आशय नबोकेका साथीहरु, ए बाबा, यो ठूलै भाँडामा पकाएको ढिँडो खाऔँ न। फेरि यत्रो (सानो) भाँडो के गुजुगुजु बसाउनुपर्यो। म आह्वान गर्छु, आग्रह गर्छु, साथीहरुलाई। आउनुस्। सँगै मिलेर काम गरौं’, उनले भने।

ओलीले प्रतिक्रियावादीहरुले चुनौती दिइरहेको भन्दै आफूहरुले किन चुनावी तालमेल मात्रै गर्ने भन्दै प्रश्न तेर्स्याएका थिए। त्यसपछि उनले मैनाली र आफू एउटै आन्दोलनबाट आएको बताएका थिए।

‘एक अर्कालाई बहुत राम्रोसँग चिन्दछौँ। अलिक यसो हाफप्यान्ट लगाएर हिँड्दैदेखि चिन्दछौं। जुँगाका रेखी बस्दैदेखि चिनेको कम्तिमा। हामी एउटै आन्दोलनबाट पनि आएको। अलग बस्नुपर्ने कारण नै छैन’, उनले भने।

उनले आफूहरु देशकाविरुद्ध, जनताकाविरुद्ध, प्रगतिकाविरुद्ध, सुशासनका विरुद्ध र विकासकाविरुद्ध नभएको भन्दै पार्टीका एकताको आधार त्यही हुने बताए।

‘अरु अनावश्यक सानातिना के जाति, के जाति निकालेर नगरौँ। गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर, त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरुको बारेमा पनि विचार गरौंला’, उनले भने।

एमालेको २०५४ सालमा सम्पन्न नेपालगन्ज महाधिवेशनपछि एमालेमा विभाजन आएको थियो। त्यतिबेला वामदेव गौतमको नेतृत्वमा मैनालीसहितले पार्टी विभाजन गरेर नेकपा माले गठन गरेका थिए।

गौतम पछि एमालेमै फर्किए भने मैनालीले मालेलाई पुनर्गठित गर्दै अघि बढेका छन्। त्यतिबेला पार्टी विभाजनलाई ओलीले ‘पिलो निचोरिएको’ संज्ञा दिएका थिए।

प्रतिक्रिया दिनुहोस