काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।
आगामी संघीय संसदको निर्वाचनको मिति घोषणा हुनुपुर्व नै प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका हुन् ।
यसको लागि उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल पनि गरिसकेको स्रोतको दाबी छ । चुनावको मिति आज-भोलि नै घोषणा हुँदैछ । त्योभन्दा अघि नै लोसपाबाट दुई जनालाई सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।
निर्वाचनको मिति घोषणा भएपछि आचारसंहिता लाग्ने भएकोले देउवाले त्यो भन्दा अघि नै मन्त्रिपरिषद्मा लोसपालाई सहभागी गराउन चाहेका छन् । लोसपालाई सरकारमा सहभागी गराउनेबारे उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग पनि सहमति लिईसकेका छन् । लोसपानिकट स्रोतले दिएको जानकारीअनुसार लोसपाबाट शरदसिंह भण्डारी र अनिल झा मन्त्री बन्ने पक्का भएको छ ।
सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुर निकट एक नेताका अनुसार सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको छ ।
लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायतको शर्त राखेको थियो ।
‘महोत्तरी र कैलालीको टीकापुरमा लोसपाका नेता कार्यकर्तालाई झुटा मुद्धा लगाएर थुनामा छन् । सर्वोच्चमा विचाराधीन रहेकालाई केही गर्न सकिने भएन’, लोसपा नेता भन्छन्, ‘फिर्ता लिन सकिने मुद्धाहरुका बारेमा प्रधानमन्त्रीसँग छलफल भइरहेको छ ।’