काठमाडौं ।
कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।
प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा लागू हुने बताए। प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो।
प्रदेश सरकारले नागपञ्चमीका साथै प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, असार १५ धान दिवस (जुम्लाबाहेक), जुम्लामा चैत १२ गते धान दिवस, साउन १ गते देउडा दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी र कात्तिक ३ गते असोज शुक्ल पूर्णिमा, माघ १ गते चैते दशैँको अवसरमा बिदा दिँदै आएको छ।
हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।
यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।
नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।
यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँद सुरु भएको मानिन्छ ।
ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा बिधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।
यो धार्मिक विधी विधान कुनै आडम्बर होइन । अन्धविश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो ।
पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।